तानसेनमा खानेपानी अभाव हुन दिँदैनौं : मन्त्री यादव

तानसेनमा ४ हजार ३३२ निजी र २६० संस्थागत धारा जडान

श्रावण १०, २०८२

माधव अर्याल

We will not allow shortage of drinking water in Tansen: Minister Yadav

What you should know

पाल्पा — संघीय खानेपानीमन्त्री प्रदीप यादवले तानसेनमा खानेपानीको अभाव हुन नदिने बताएका छन् ।

उनले यस वर्ष १० करोड बजेट विनियोजन भएको र खानेपानी वितरणका लागि ५० लाख लिटरको ट्यांकी निर्माण कार्य सुरुवात गर्न आग्रह गरे ।

पाल्पाको तानसेन खानेपानी उपभोक्ता समितिको १० औं वार्षिक साधारणसभा शनिबार बोल्दै मन्त्री यादवले भने,  ‘१० करोडबाट टेण्डर गरेर काम थाल्नुस् । आवश्यक बजेटलाई अभाव हुन दिनेछैन । यसमा ३५ करोड खर्च भए पनि व्यवस्थापन गर्छु ।’

चालु आर्थिक वर्षमा विनियोजित बजेट समयमै खर्च गरेर तानसेन बजारका बासिन्दाका साथै यहाँ आउने पर्यटकलाई खानेपानीको अभाव हुन नदिन उनले आग्रह गरे । संघीय सरकारले २०६८ सालमा उपभोक्ता समितितलाई हस्तान्तरण गरी २०७२ सालदेखि पूर्ण रुपमा तानसेन खानेपानी उपभोक्ता समितिले खानेपानी वितरण तथा व्यवस्थापन गर्दै आएकाले यसलाई अझ दिगो बनाउन बजेट वितरण गरिएको उनको भनाइ थियो ।

९५ प्रतिशत लिफ्ट खानेपानीबाट पानीको व्यवस्थापन गरेको समितिले कालीगण्डकी नदी, सिस्ने, तीनधारा, होलाङ्दी, बााझा कुरुङ्खोला लगायतका स्थानबाट पानी ल्याएर बितरण गरेको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । तानसेन बजार क्षेत्रमा ४ हजार ६ सय तीन धारा वितरण गरी खानेपानी व्यवस्थापन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा संघीय सांसद ठाकुर गैरेले तानसेनमा खानेपानीमा भएको सुधार र आगामी दिनमा गरिने काममा आफ्नो सहयोग रहने बताए । 

तानसेनमा ४ हजार ३३२ निजी र २६० संस्थागत धारा जडान भएका छन् । मिसन अस्पताल र तानसेन नर्सिङ क्याम्पसलाई नियमित पानीका अतिरिक्त थप पानी ओभरलोडबाट वितरणको व्यवस्था मिलाइएको छ ।

तीन वर्षअघिसम्म ९ दिनमा एक पटक आधा घण्टा धारामा पानी आउने तानसेनमा अहिले एक दिन बिराएर दैनिक एक घण्टा पानी वितरण हुन्छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully