सहिदमार्गमा रातको समयमा यातायात सञ्चालनमा रोक

सडक निर्माणको काम निकै सुस्त गतिमा भएकाले वर्षाको समयमा सडक अवरुद्ध हुने क्रम रोकिएको छैन ।

श्रावण १०, २०८२

काशीराम डाँगी

Suspension of night traffic on Shahidmarg

What you should know

रोल्पा — सम्भावित सडक दुर्घटना न्यून गर्ने उद्देश्यले रोल्पाका सहिदमार्ग र ग्रामीण भेगका भित्री सडकमा रातिको समयमा सबै प्रकारका यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिले ती सडकमा भदौ १५ सम्म बुलेकी ६ बजेदेखि बिहान ५ः३० बजेसम्म यातायात सञ्चालनमा पूर्ण रोक लगाएको हो । 

जिल्ला सुरक्षा समितिले उक्त निर्णय गर्न प्रस्ताव गरेकोमा शनिबार आकस्मिक रूपमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले उक्त निर्णय पारित गरेको हो । जिल्ला सुरक्षा समिति समक्ष निर्णय लागू गराउन सर्वपक्षीय बैठकले अनुमोदन गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । उनी जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत हुन् । उनका अनुसार बढ्दो वर्षा र सडक निरन्तर अवरुद्ध हुने क्रम बढेपछि यस्तो निर्णय गर्नुपरेको हो । उक्त अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अन्य अत्यावश्यक सामग्री बोकेका गाडीलाई विभिन्न स्थानमा रहेका प्रहरी इकाइका अधिकारीहरूले जाँच गरेर सञ्चालन अनुमति दिने व्यवस्था मिलाइएको उनले बताए । उक्त निर्णयका कारण सहिदमार्ग हुँदै राजधानी र दाङबाट रुकुम र रोल्पाका लागि चल्ने रात्रिबस प्रभावित भएका छन् । 

दाङको घोराहीदेखि रोल्पाको होलेरी र त्यसअघि नुवागाउँ, गैरीगाउँ, घर्तीगाउँ, दुईखोली, कुरेली र थबाङसम्म र रुकुम पूर्वसम्म निर्माणाधीन उक्त सहिदमार्गमा यातायातका साधन चल्दै आएका छन् । ती क्षेत्रमा दिवा र रात्रिबससहित दर्जनौँ साना गाडी चल्दै आएका छन् ।

सडक निर्माणको काम निकै सुस्त गतिमा भएकाले वर्षाको समयमा सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । सहिदमार्ग सडक निर्माण आयोजना कार्यालयका प्रमुख इन्जिनियर माधव अधिकारीले सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा उद्धार टोली खटाइएको बताए । यद्यपि प्रमुख जिल्ला अधिकारी दाहालले सहिदमार्गको अधिकांश भागमा पहिरो र ढुंगा खसेर अवरुद्ध हुने गरेको बताए । भदौसम्म रातिमा यातायातका साधन चलाउन नदिए नागरिकको सुरक्षा हुने उनको दाबी छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully