परासी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिर्गौलाका बिरामीले डायलासिसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताएका छन् । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
‘अहिलेसम्म मिर्गौलाका बिरामीले रूपन्देही र अन्य जिल्ला गएर डायलासिस गर्नुपर्ने अवस्था थियो । तर अब जिल्ला अस्पतालमा नै यो सेवा उपलब्ध हुने छ,’ उनले भने ,‘प्रदेशभरिका जिल्ला अस्पताललाई विशेषज्ञ सहितको सेवा र गुणस्तरमा ध्यान दिन सबै कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिन्छु ।’
१३ करोड ६६ लाखको लागतमा सुविधासम्पन्न भवन निर्माण भएको छ । यस अगाडि भौतिक संरचना अभावको कारण थप सेवा विस्तार गर्न नसकेको अस्पतालमा अहिले बाल रोग विशेषज्ञ र मानसिक रोगसम्बन्धी विशेषज्ञबाहेक १३ जना विशेषज्ञ चिकित्सक छन् ।
भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा सांसद ध्रुवबहादुर प्रधान, देवेन्द्रराज कँडेल, बैजनाथ चौधरी, राम बच्चन यादवलगायतका नेताले जिल्ला अस्पताललाई सुविधासम्पन्न गराउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
