मल लिन पाल्हीनन्दनका किसान रातिदेखि लाइनमा

श्रावण ९, २०८२

रासस

Farmers of Palhinandan lined up since night to get fertilizer

What you should know

नवलपरासी — बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिनका लागि रातिदेखि नै लाइन बसेका छन् । रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालय अगडि लाइनमा बसेका हुन् ।

पाल्हीनदन गाउँपालिका-४ का रामानन्दन हरिजनले भने, 'रोपाइँ सकिएको दुई महिना भयो, मलको अभाव भएर अहिलेसम्म पाएका छैनौँ । सरकारले उपलब्ध गराउने मल पाउने आशामा रातिदेखि लाइनमा बसेका छौँ ।' खेतमा रासायनिक मल प्रयोग नगरेमा धान उत्पादन घट्नेमा उनले चिन्ता व्यक्त गरे । 'मल लिनका लागि ४ नं वडा कार्यालयको अगाडि रातिदेखि लाइनमा बसेपछि प्रतिकिसान २५ किलो युरिया मल पाएका हौँ । मलको अभाव देखेर खेती गरौँ की नगरौँ भन्ने दोधारमा छौँ,' उनले भने । 

पाल्हीनन्दनको हरपुरमा बिहीबार ३ बजे रातिदेखि युरिया मल लिन सहकारीको अगाडि किसान लाइनमा बसेका रवीन्द्र हरिजनले बताए । लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेसँगै जमिन सुकेर खडेरी लागेको बताउँदै उनले धान सुक्न थालेको उल्लेख गरे । 

मलको अभाव रहेकाले सबै किसानलाई वितरण गर्ने उद्देश्यले लाइनमा व्यवस्थित गराएर प्रतिकिसान २५ किलोका दरले युरिया वितरण गरिएको पाल्हीनन्दन-४ का वडाध्यक्ष रवीन्द्र सहानीले जानकारी दिए ।

आवश्यकता अनुसार मल नपाएको किसानले गुनासो गरिरहेकाले वितरणको पहल थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । मलको कोटा बढाउन आवश्यक रहेको बताउँदै उनले यसका लागि सरोकार भएका निकायसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गरे ।

रासस

Link copied successfully