स्याङ्जा — स्याङ्जाको भालुपहाडस्थित पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ। पटक–पटक खस्ने पहिरो र ठूला खाल्डाखुल्डीका कारण ट्रक फसेपछि जाम भएको सडक जेसिबी प्रयोग गरी एकतर्फी खुला गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिए।
खाल्डाखुल्डी पुर्न रातो माटो हालिँदा चिप्लो, हिलो र धुलोले यात्रा कठिन भएको स्थानीयको गुनासो छ। सडक डिभिजन कार्यालय पोखराको प्रत्यक्ष रेखदेखमा सडक चक्ल्याउने र कालोपत्रे गर्ने भनिए पनि विगतका वर्षदेखि नै अलपत्र रहेको यो सडकखण्ड ठेकेदारकै कारण अलपत्र रहेको र सडक डिभिजन कार्यालय गैर जिम्मेवार बनेको स्थानीयको आरोप छ।
सडककै कारण यहाँका युवाले ज्यान गुमाउन बाध्य भएको स्थानीय विष्णु पौडेलले बताए। जिल्ला प्रशासन कार्यालय पनि यस विषयमा मुकदर्शक बनेको स्थानीयवासीको भनाइ छ।
