What you should know
दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरूको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा बिहीबार एक कार्यक्रम आयोजना गरी मुख्यमन्त्री आचार्यले उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन् ।
‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भने– ‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’उनका अनुसार चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको छ ।
प्रदेश सभामुख तुलाराम घर्तीमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताए । ‘जनताले मूल्याङ्कन गर्न सक्ने गरी पारदर्शी ढंगले काम भएको छ । अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिनेछ,’ सभामुख घर्तीमगरले भने, ‘जनताको भावना र पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, संवर्द्धन र कार्यान्वयनको दिशामा सरकार संवेदनशील भएर अगाडि बढ्नुपर्छ ।’
सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेको हो । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको उनले बताए । सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेको उनले बताए ।
प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेलले एक वर्षे उपलब्धिहरूको विवरण प्रस्तुत गरे । सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राना) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री ड्यासबोर्ड, किसान एप र अभौतिक सांस्कृतिक सम्पदाको विमोचन गरिएको थियो । प्रदेश सरकारले मुख्यमन्त्री ड्यासबोर्ड स्थापना गरेको छ । मन्त्रालय र सरकारका विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरूको अनुगमन गर्न बनाइएको मुख्यमन्त्री ड्यासबोर्डको मुख्यमन्त्री आचार्यले उद्घाटन गरे ।
यस्तै, मुख्यमन्त्री आचार्य र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले संयुक्त रूपमा अभौतिक सांस्कृतिक सम्पदाहरूको पुस्तिका विमोचन गरे । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तिका प्रकाशन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको समुद्घाटन गरे । मुख्यमन्त्री ड्यासबोर्ड र किसान एप प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।
