लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेंगी संक्रमण

श्रावण ७, २०८२

माधव अर्याल

Palpa has the highest number of dengue infections in Lumbini region

What you should know

पाल्पा — लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेंगीबाट संक्रमित देखिएका छन् । प्रदेशका १२ जिल्लामध्ये पाल्पामा पछिल्लो ६ महिनामा १ सय २० जनामा डेंगी संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यो संक्रमण जनवरीदेखि अहिलेसम्मको हो ।

पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा आएका बिरामीमा डेंगी संक्रमण देखिएको कार्यालयले जनाएको छ । जिल्लाबाट उपचार गराउन आएका साथै छिमेकी जिल्लाका बिरामीसमेतमा संक्रमण पुष्टि भएकाले पाल्पामा डेंगी बढी देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत तथा सूचना अधिकारी मधुसुधन भट्टराईले बताए । पछिल्लो पुस महिनाको दोस्रो सातादेखि लुम्बिनी प्रदेशमै डेंगी संक्रमण बढेको उनले जानकारी दिए । पछिल्लो जेठ अन्तिमदेखि असार महिनामा सबैभन्दा धेरै ७६ जना पाल्पामा संक्रमित भएका थिए ।

लुम्बिनी प्रदेशका तराईका जिल्लामध्ये रुपन्देहीमा ७०, बाँकेमा २७, दाङमा ५८, बर्दियामा ११ र कपिलवस्तुमा ८ जनामा डेंगी संक्रमण देखिएको छ । पहाडी जिल्ला पाल्पामा भने अघिल्लो वर्ष र यस वर्ष डेंगी संक्रमण बढेको छ । गुल्मीमा ३२, पश्चिम नवलपरासीमा ८, अर्घाखाँचीमा १६, रोल्पा र प्यूठानमा ७/७, रुकुम पश्चिममा ३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । 

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जलवायु परिवर्तनका कारण गर्मी बढ्दै जानु र लामखुट्टे हुर्कनका लागि उपयुक्त वातावरण हुनुले पनि डेंगी संक्रमणको संख्या बढेको हो । पानी पर्ने र घाम लाग्ने हुँदा लामखुट्टे झन सक्रिय हुने स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत भट्टराईले जानकारी दिए । जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा पृथ्वीको सतहको औसत तापक्रम वर्सेनि वृद्धि हुँदै जाँदा पाल्पाको तापक्रम उपयुक्त भएकाले पनि पाल्पामा डेंगी संक्रमण बढेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

हाल वर्षायाम भएकाले लामखुट्टेको वृद्धि विकासमा टेवा पुगेको र संक्रमण फैलिएको जनाइएको छ । पछिल्ला वर्षहरूमा जिल्लामा डेंगीको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । गत वर्ष पाल्पामा चार सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको थियो । संक्रमण नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिए पनि संक्रमण बढेको पाइएको हो । डेंगी एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

स्वास्थ्य कार्यालय पाल्पाले अघिल्लो आर्थिक वर्षको अन्त्यमा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा स्थानीय तहहरूसँगको पैरवी कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले पाल्पाका लागि डेंगी नियन्त्रण तथा जनचेतना कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट पठाएकोमा ३ लाख ९२ हजार खर्च भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए । कार्यालयले तिनाउ गाउँपालिकाको झुम्सा र दोभान, बगनासकाली गाउँपालिकाको नायरनमतलेस र पोखराथोक, रैनादेवी छहराको मुझुङ र छहरा, रम्भाको ताहुँ र हुमिन, माथागढीको रुप्से र कसेनी र तानसेनमा बासस्थानको खोजी, नष्ट तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । महिला स्वयंसेविका, जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया र स्वयंसेविकाको परिचालनमा उक्त बजेट खर्च भएको निमित्त प्रमुख पोखरेलले जनाए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully