गढवामा दुग्ध संकलन केन्द्र सञ्चालन

श्रावण ७, २०८२

दुर्गालाल केसी

Operation of milk collection center at Garhwa

What you should know

दाङ — दाङमा दुग्ध संकलन केन्द्र सञ्चालनमा आएपछि बजार र मूल्य दुवै सुनिश्चित भएका छन् । दूध बिक्री गर्न घर–घर पुग्ने किसानहरू अब संकलन केन्द्रमै पुगेर बिक्री गर्न थालेका छन् । 

गढवा गाउँपालिकामा बुधबार दुग्ध संकलन केन्द्र स्थापना भएपछि दुग्ध उत्पादनको बजारीकरण सहज भएको हो । गढवा गाउँपालिकामा मात्र पाँच सयभन्दा बढी व्यावसायिक दुग्ध उत्पादक किसान छन् । उनीहरूले दैनिक करिब दुई हजार लिटर दूध उत्पादन गर्दै आएका छन् । तर, दूध बिक्री गर्ने बजार अभावका कारण किसानले उचित मूल्य पाउन सकेका थिएनन् । अबदेखि यहाँका किसानले उत्पादन गरेको दूध सहकारीमार्फत संकलन थालिएको छ । जसका कारण किसानले व्यक्तिको घर वा डेरीमा बेचेको भन्दा धेरै मूल्यमा दूध बिक्री गर्न पाएका छन् ।

यसअघि प्रतिलिटर ६० रुपैयाँमा दूध बिक्री गर्दै आएका किसानहरूले अहिले ८० रुपैयाँभन्दा माथिको मूल्यमा दूध बिक्री गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । गढवाका किसान देवराज यादवले यसअघि ६० देखि ६५ रुपैयाँ प्रतिलिटरसम्म दूध बिक्री गरेका थिए । अहिले उनले ८० रुपैयाँसम्म प्रतिलिटर दूध बिक्री गर्न पाउँदा सन्तुष्ट भएका छन् ।

'पहिला त सस्तोमा बिक्री गर्नुपर्थ्यो । त्यसमा पनि समयमा भुक्तानी पाइँदैनथ्यो,' उनले भने, 'अहिले मूल्य पनि राम्रो पाइन्छ । त्यसैले खुसी छौँ । अब निरन्तर बिक्री हुने व्यवस्था हुन जरुरी छ ।'

हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा सन्चालित भिटा परियोजनाअन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले सरकारी मूल्यअनुसार दूध खरिद सुरु गरेको हो । कृषि उपज संकलन तथा बिक्री केन्द्रमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको हो । यहाँ दुई हजार लिटर दूध अटाउन सक्ने चिलिङ भ्याटसमेत जडान गरिएको छ । संकलन भएको दूध बुटवलस्थित विशिष्टीकृत सहकारीले खरिद गर्ने सम्झौता भएको छ ।

दूधको सहज बजारीकरण र मूल्य सुनिश्चित गर्न सफल भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully