परासी — पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा पित्तथैलीमा रहेको पत्थरी शल्यक्रिया गरी निकालिएको छ । यसअघि प्रसूति तथा सामान्य प्रकारको शल्यक्रिया भए पनि बिरामीलाई पूरै बेहोस पारेर शल्यक्रिया गरिएको यो पहिलो पटक हो ।
जनरल सर्जन डा. अब्दुल हकिमल, एनेस्थेसियन डा.सबा खान, मेडिकल अफिसर डा. विजयप्रकाश साहनी, गीता चुदाली, कोमल साहनी, गुन महतोलगायतको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरी पत्थरी निकालेको हो ।
उपकरण भए पनि विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रूपन्देही तथा अन्य जिल्लाका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता थियो । तर, अहिले शल्यक्रियाका लागि आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी भएपछि शल्यक्रिया सेवा यहीँ सुरु गरेको हो ।
पाल्हीनन्दन गाउँपालिकाका २५ वर्षीय युवकको पित्तथैलीमा रहेको १३ दशमलव ५ मिमि आकारको पत्थरी शल्यक्रिया गरी निकालिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुल होदाले बताए । ‘हामीसँग उपकरण थियो । तर, जनशक्ति अभावमा शल्यक्रिया गर्न सकिएको थिएन,’ उनले भने, ‘अहिले हामीकहाँ बाल रोग विशेषज्ञ र मानसिक रोगसम्बन्धी विशेषज्ञ बाहेक जिल्ला अस्पतालमा उपलब्ध हुने १३ जना विशेषज्ञ चिकित्सक छन् ।’
