What you should know
पाल्पा — पाल्पामा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा १ हजार ३ सय ५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९/८० मा ४ सय ४३ र २०८०/८१ मा ४ सय २८ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षमा कुल ८ सय १५ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्र ४ सय ८५ रहेका छन् । अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्ध विच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने अदालतका तहसिलदार तथा सूचना अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा वैवाहिक सम्बन्ध अन्त्यका लागि समेत २७ जना जिल्ला अदालतमा आएका थिए ।
सूचना र प्रविधिको दुरुपयोग, वैदेशिक रोजगार जस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन् । सहरी क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने महिला पुरुषको परिवारमा यस्ता समस्या देखिएको छ ।
यस्तै जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा ७ सय ६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकामा ८ सय १५ वटा मुद्दा फर्छ्यौट गरी लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालत पाल्पाका स्रेस्तेदार पराजुलीले जानकारी दिए ।
अदालतले कार्यालयमा राखेको पत्रकार भेटघाटमा बोल्दै स्रेस्तेदार पराजुलीले २०८०/८१ बाट जिम्मेवारी सरेर आएका २ सय ७० मुद्दा र नयाँ दर्ता भएका ८ सय १४ मुद्दा गरी जम्मा १ हजार ८४ मुद्दा मध्ये ८ सय १५ वटा मुद्दा फैसला गरी किनारा लागेको जानकारी दिए । कुल मुद्दा संख्याको ७५ दशमलभ १८ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो ।
