What you should know
लुम्बिनी — जमिनमुनिबाट आउने पानीले सम्पदालाई क्षयीकरण गरिरहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरलाई जीर्णोद्धार गरेर चिरिच्याट्ट बनाइएको छ । मायादेवी मन्दिरभित्र बिजुली बत्ती, ड्रेनेज, सरसफाइ र रंगरोगन गरिएको छ ।
लुम्बिनी विकास कोषमा सधैं बजेट अभाव हुँदा थलिएर जीर्ण बन्दै गएपछि दाताले सहयोग गरेर मायादेवी मन्दिरलाई मनमोहक र चित्ताकर्षक बनाइदिएको हो ।
नेपाललाई संसारभर चिनाउने मायादेवी मन्दिर अहिले आकर्षक र मनमोहक देखिएको छ । मायादेवी मन्दिरभित्र र बाहिर चारैतिरका भित्तामा रंग लगाइएको छ । त्यस्तै भित्र हिँड्ने काठको वाक–वे, रेलिङ, ढोका, झ्याल र माथिल्लो फलामे ट्रस्टमा इनामेल पेन्ट लगाइएको छ । वातावरण र सम्पदामैत्री रंगले मन्दिरलाई चिस्यान (मोइस्चर) प्रतिरोधी बनाइएको छ । चहकिलो र 'वासेबल पेन्ट'ले राम्रो देखिएको छ ।
लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीले ६७ लाख ४१ हजार लागतमा मायादेवी मन्दिर जीर्णोद्धार गरेको हो । पुरातात्विक भग्नावशेषलाई नछोई सम्पदामैत्री तरिकाले मायादेवी मन्दिरलाई जीर्णोद्धार गर्न रोयल थाई मोनास्ट्रीले श्रीलंकाबाट सिभिल इन्जिनियर सानुका निलन्जय तिलकरत्नेलाई बोलाएर लुम्बिनी विकास कोषको समन्वयमा काम गरेको थियो । झन्डै ५ महिना लगाएर असारमा काम सम्पन्न गरिएको हो ।
बुद्धप्रतिको आस्था र श्रद्धाले मन्दिरको जीर्णोद्धार गरिएको रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा राजबोधी विदेश वजिराशुद्धीले बताए । 'हामी थाईहरू लुम्बिनीको माटो छुन पाउँदा भाग्यमानी ठान्छौं,' उनले भने, 'मन्दिर जीर्णोद्धार गर्न पाउँदा त अझ धेरै पुण्य सञ्चय गर्छौं । पूरा मन्दिर नै मर्मत-सम्भार गर्न चाहन्थ्यौं, तर विविध कारणले सम्भव भएन । फेरि सहयोग चाहियो भने हामी गर्न उत्सुक छौं,' उनले भने ।
वर्षाका कारण मायादेवी मन्दिरआसपास जमिनमुनि पानीको लेभल बढ्दा पुरातात्विक भग्नावशेष र पर्खालमा लेउ लागेर क्षयीकरण हुँदै गएको थियो । अहिले व्यवस्थित 'ड्रेनेज सिस्टम' बनाएर समस्या समाधान गरिएको छ । पानीको लेभल बढ्दा मायादेवी मन्दिरका पुरातात्विक भग्नावशेषसम्म नपुगोस् भनेर मन्दिर वरिपरि जमिनमुनि चारैतिर ५ वटा इनार बनाइएको थिए ।
इनार भरिँदा पम्पसेट चलाएर पानी बाहिर फालिँदै आएकामा अहिले अटोमेटिक समर्सिबल मोटर जडान गरिएको छ । पानी निश्चित तहमा पुग्दासाथ ५ वटा मोटर आफैं चल्न थालेर पानी फाल्छ । इनारमा ६ र ४ इन्चका दुईवटा पाइप लगाएर 'ड्रेनआउट' गरिएको छ । छतको पानी पनि ५ ठाउँबाट तल झरेर इनारकै पाइपबाट ड्रेनआउट भई बाहिर निस्कन थालेको लुम्बिनी विकास कोषका प्रमुख पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । यसले ५ वटै ठाउँको पानी मन्दिरपूर्व एकै ठाउँमा जम्मा भएर व्यवस्थित तरिकाले बाहिर जान थालेपछि पानीका कारण हुने धेरै समस्या समाधान भएको उनले बताए ।
मन्दिरभित्र हावा खेल्न नपाउँदा गुम्सिने, आद्रता बढ्ने समस्या, श्रद्धालु र पर्यटकका खुट्टा र मोजाको दुर्गन्ध पनि हटेको छ । मन्दिरभित्र १२ इन्चको १६ वटा 'एडजस्ट फ्यान' जडान गरेर भित्रको हावा बाहिर निकालिएको छ । त्यस्तै मन्दिरभित्र ३६० डिग्री घुम्ने २२ वटा सिलिङ फ्यान जडान गरिएको छ । यसले भित्र राम्ररी हावा खेल्न पाउँदा पुरातात्विक सम्पदामा ढुसी लागेर हानी–नोक्सानी नहुने र पर्यटकलाई ध्यान र दर्शन गर्न सहज भएर पुरातात्विक वस्तु पनि संरक्षण भएको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताए । 'यस्तो महत्त्वपूर्ण काम त कोषले आफ्नै स्रोतबाट गरेको भए राम्रो हुन्थ्यो,' उनले भने । लुम्बिनी विकास कोषले भने मन्दिर जीर्णोद्धार गर्न बजेट अभाव देखाउँदै लामो समयदेखि अनिच्छा देखाउँदै आएको थियो ।
त्यस्तै मन्दिरभित्र सम्पदामैत्री बत्ती जडान गरिएको छ । बत्तीको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले पुरातात्विक वस्तुलाई हानि–नोक्सानी नगर्ने महँगो 'अल्ट्रा–भायोलेट' बत्ती जडान गरिएको छ । १० वाटका ६० वटा र ८ वाटका ३० वटा बत्ती जडान गरिएको छ । मन्दिरभित्र बिजुलीलाई व्यवस्थित गरिएको छ । बिजुलीको पूरा नयाँ वायरिङ गरिएको छ । ६३ एम्पिएरको प्यानल बोर्ड, पानी तान्ने मोटरका ५ वटा 'कन्ट्रोल प्यानल', ३२ एम्पिएरको 'अटोमेटिक चेन्जओभर', 'स्विच बोर्ड' र 'एमसीभी बक्स' जडान गरिएको छ । त्यस्तै १६ वटा झ्यालका काठ र सिसा फेरिएको छ । मन्दिरको ढोका पनि बनाइएको छ ।
मन्दिरमा गरिएको सम्पदामैत्री सुधारले भर्खरै फ्रान्समा सम्पन्न युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सेसनले बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतराको सूचीमा नराख्न महत्त्वपूर्ण योगदान गरेको कोषका सदस्य–सचिव सानुराज शाक्यले बताए । युनेस्कोका विज्ञले मन्दिरका पुरातात्विक सम्पदा जोगाउन दिएको सल्लाहअनुसार दाताले काम गरिदिँदा नेपाली अधिकारीले ठूलो राहतको सास फेरेका छन् । लुम्बिनी मुलुकको सबैभन्दा बढी भ्रमण हुने गन्तव्य हो । यहाँ बर्सेनि करिब दुई लाख विदेशी, त्यसभन्दा बढी भारतीय र १६ लाखभन्दा बढी नेपाली आउने गर्छन् । मायादेवी मन्दिर सन् २००२ मा कोषका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र शाहले उद्घाटन गरेका थिए ।
