प्युठानमा ९७ प्रतिशत रोपाइँ सकियो

श्रावण ५, २०८२

शमशेरविक्रम जीसी

In Pyuthan, 97 percent planting has been completed

What you should know

प्युठान — प्युठानमा यस वर्ष ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जेठको पहिलो साताबाट रोपाइँ सुरु भएको थियो । 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार जिल्लाभर ६ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकामा यो वर्ष ९७ प्रतिशत अर्थात् ६ हजार ३ सय ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

सिचाइँ सुविधा पर्याप्त हुँदा तथा लगातार वर्षा भइरहेकाले पनि जिल्लामा रोपाइँ सरदरभन्दा एक साता छिटो सकिएको कार्यालय प्युठानका प्रमुख विनोद शर्माले जानकारी दिए । झिमरुक नदी र यसका सहायक नदीमार्फत यहाँका प्रायजसो धान रोपाइँ हुने फाँटमा सिँचाइ सुविधा छ । केही भूभागमा आकासे पानीको भरमा रोपाइँ हुने पनि त्यो निकै कम छ । आकासे पानीको भर पर्नुपर्ने बाध्यता नभएकाले जिल्लामा धान रोपाइँ अन्यत्रको तुलनामा छिटो हुने गरेको छ । 

In Pyuthan, 97 percent planting has been completed

‘अन्य जिल्लामा रोपाइँ सुरु हुदा यहाँ धानको झार गोडमेल गर्ने भइसक्छ,’ प्रमुख शर्माले भने, ‘सिचाइँ सुविधा ७५ प्रतिशतभन्दा बढी क्षेत्रमा सहज छ ।’

प्युठानमा हाल ३ हजार ९९५ रोपनी क्षेत्रफलमा चैते धान पनि रोपाइँ भएको छ । अहिले चैते धानले फल लगाउने सिजन भएकाले केही समयमा धान भित्र्याएर पुन: बर्खे धान लगाउने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ प्युठानका प्रमुख चुमानसिंह गिरीले बताए । यो वर्ष ४ सय रोपनी क्षेत्रफल चैते धानका लागि विस्तार भएको छ । यसबाट १ हजार ४८ मेट्रिकटन धान उत्पादन हुन्छ भने बर्खे धान २४ हजार ७ सय ९५ मेट्रिकटन फल्ने अनुमान गरिएको छ ।

शमशेरविक्रम जीसी जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully