दलहरु उम्मेदवार खोज्दै, स्वतन्त्रहरुले प्रचाप्रसारमा तीव्रता
What you should know
बुटवल — रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आयोगले असोज २१ गते मनोनयन दर्ताको दिन तोकेको छ ।
आयोगले आइतबार सार्वजनिक गरेको उपनिर्वाचन कार्यक्रम अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । असोज २२ गते उम्मेदवार माथिको उजुरी र असोज २४ गते अन्तिम नामावली प्रकाशन र कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने उल्लेख छ ।
उम्मेदवार माथिको उजुरीका लागि आयोगले असोज २२ गते बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकेको छ । उजुरी उपर जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्मको समय उपलब्ध गराएको छ । सोही दिन उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहेको अवस्थामा असोज २४ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ । उक्त दिन ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बेलुका ३ बजेपछि निर्वाचन चिह्न प्रदान गर्ने र कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका आयोगले सार्वजनिक गरेको हो ।
यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको जानकारीसमेत निर्वाचन आयोगले जनाएको छ । प्रचार प्रसार निषेध अवधि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् २०८२ कात्तिक १४ गते राति १२ बजेसम्म तोकिएको छ । सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपश्चात मतगणना कार्य सुरू गरिने आयोगले जनाएको छ ।
रूपन्देही–३ मा राप्रपाका दीपक बोहोराको क्यान्सरका कारण निधन भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको छ । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्ने र उम्मेदवार छनोट गर्ने तयारीमा लागेका छन् । राप्रपाले दीपक बोहोराका छोरा प्रज्जवल र गौरव बोहोरा एवं नातिनी स्वाती थापालाई प्राथमिकतामा राखेर ६ जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै, भारतसँगको सिमाना जोडिएको तराई क्षेत्र पर्ने भएकाले मधेशवादी दलहरुले साझा उम्मेदवा उठाउने प्रयासमा छन् । कांग्रेस एमालले छुट्टाछुट्टै उम्मेदवारी दिने कि सत्तागठबन्धन अनुसार एउटा मात्र उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेका छैनन् । कांग्रेसबाट बालकृष्ण खाँणसहित प्रमोद यादव र भरत शाहको चर्चा छ । एमालेबाट खिमानन्द भट्टराई, भरत पोखरेल, हरि अधिकारी लगायतको नाम चर्चामा छ । काठमाडौंका मेयर बालेन साहको तर्फबाट उनकै सचिवालयका सदस्य सन्तोष गिरिले प्रचारप्रसार सुरु गरिसकेका छन् । रास्वपाले पनि अहिलेसम्म उम्मेदवार छनोट गर्न सकेको छैन ।
