शान्तिका लागि वृक्षारोपण अभियान

श्रावण ४, २०८२

मनोज पौडेल

Plantation for Peace campaign

What you should know

लुम्बिनी — शान्ति, करुणा, मैत्री र सद्भावका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा वृक्षारोपण थालिएको छ । ग्रिन लुम्बिनी इनिसियटिभ कार्यक्रमअन्तर्गत १८ हजार बिरुवा लगाउने अभियानको आइतबार शुभारम्भ गरिएको हो । 

लुम्बिनीस्थित ५ नम्बर गेटअघि कालोपत्र सडकको बीच भागमा खाली रहेको ठाउँमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजुरुद्दिन मुसलमानले वृक्ष रोपेर यसको शुभारम्भ गरेका हुन् । उक्त अवसरमा भियतनामी प्रतिष्ठित बौद्ध गुरु भिक्षु डा. लाम (थे हुएन दिउ), लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य फकरुद्दिन मुसलमान र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन र टीएचडी पिस फाउन्डेसन, भियतनामका निर्देशक केन्थ डाबले पनि वृक्षारोपण गरेका थिए । 

लुम्बिनी विकास कोष, डिभिजन वन कार्यालय र टीएचडी पिस फाउन्डेसन, भियतनामको समन्वयमा लुम्बिनी ग्रिन युथ क्लबले वृक्षारोपण अभियान सुरु गरेको हो । 

आज दुई सय कल्की फूलका विरुवा लगाएर सुरुवात गरिएको लुम्बिनी ग्रिन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मीले बताए । लुम्बिनी आउने तीर्थालु, उपासक उपासिका र पर्यटक हरियाली वातावरणमा रमाएर शान्ति र भ्रातृत्वको आध्यात्मिक ऊर्जा लैजाऊन भनेर अभियान गरिएको कुर्मीले बताए । ‘यसले चारैतिर सकारात्मक सन्देश जानेछ,’ उनले भने, ‘लुम्बिनीको पवित्रता अझ बढ्नेछ ।’ 

महिलवारस्थित ५ नम्बर गेटबाट सुरु गरेर कालोपत्र बाटोको बीच र छेउछाउमा वृक्षारोपण गर्दै पडरिया, लोखडिया चोक हुँदै पर्सा बजार र पुनः महिलबारसम्म अहिले वृक्षारोपण गरिने बताइएको छ । वृक्षारोपणसँगै रुख बिरुवाको हेरचाह र संरक्षण पनि गरिने बताइएको छ ।

भियतनाममा १८ अंक राम्रो र शुभ मानिने हुँदा यहाँ पनि १८ हजार बिरुवा लगाउन थालिएको हो ।

मनोज पौडेल

Link copied successfully