दुर्घटना घटाउन सडकमै प्रशिक्षण र नागरिक सुनुवाइ

श्रावण ३, २०८२

माधव अर्याल

Roadside training and citizen hearings to reduce accidents

What you should know

पाल्पा — दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सडकमै प्रशिक्षण र नागरिक सुनुवाइ तथा छलफल कार्यक्रमलाई तीव्रता दिएको छ ।

कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी प्रमुख प्रविन आचार्यले सिद्धार्थ राजमार्गका १४ स्थानका साथै झुम्सा र तानसेनमा नागरिक सुनुवाई एवं दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम राखेको बताए ।

‘वर्षायाममा बढी दुर्घटना हुने भएकाले यो समयमा सचेतना जरुरी देखिएको हो,’ उनले भने, ‘त्यसैले राजमार्ग लक्षित ट्राफिक जनचेतनाका कार्यक्रम राखेको हो ।’ सिद्धार्थ राजमार्गका प्रभास, पिपलडाँडा, आर्यभन्ज्याङ, दोभान लगायतका स्थानमा ट्राफिक सचेतनाका कार्यक्रम गरिएको छ । ट्राफिक प्रहरीले सडकमा हिँड्ने, सवारी सञ्चालन गर्ने तथा यात्रुलाई नै ट्राफिक सचेतना दिने गरेको हो । तानसेनका विभिन्न स्थानमा सवारी मर्मत केन्द्र सञ्चालक र मेकानिकलाई समेत सचेतना दिइएको छ । 

ट्राफिक प्रहरीले तानसेन नगरपालिका–७, प्रभास र तिनाउ गाउँपालिका–३, झुम्सामा सञ्चालन भएका सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई सचेतना दिइएको ट्राफिक पह्ररी प्रमुख आचार्यले बताए । चोरी गरिएका सवारी ममर्त नगर्न, आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गररे मात्र सञ्चालन गर्न सचेत गराइएको प्रमुख आचार्यले बताए । 

तिनाउ–३ का वडाध्यक्ष चित्रबहादुर थापाले नागरिक सुनुवाइले ट्राफिक प्रहरी सम्बन्धी गुनासो सुनुवाइ र त्यसको सम्बाधोन गर्न सहयोग पुगेको बताए ।

सवारीसाधनको तीव्र गति, प्रेसर हर्न, चालक तथा सहचालकको मादक पदार्थ र लागुपदार्थ सेवन, आरक्षण सिट, सवारीमा सामान ढुवानी गर्दा खस्ने, डस्टबिन राख्ने, कोइला तथा चुनढुंगा बोक्ने टिपरले बाटोमा खसाल्ने समस्या लगायतका विषयमा नागरिकले गुनासो राखेका थिए । 

वडा सदस्य टंक बस्याल नागरिकबाट आउने गुनासोलाई प्रहरीले सम्बोधन गर्नुपर्ने बताउँछन् । ट्राफिक प्रहरी कार्यालयले गर्ने सचेतना तालिम र सार्वजनिक सुनुवाइले नागरिक र प्रहरी बीचकोसम्बन्धलाई राम्रो बनाउने उनले बताए ।

तानसेन–७, का वडाध्यक्ष प्रदीप खनालले ट्राफिक प्रहरीले नागरिकको गुनासो सम्बोधनका लागि राखेको नागरिक सुनुवाइ कार्यक्रम प्रभावकारी हुने बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully