पाल्पामा ‘कोरा साइक्लिङ च्यालेन्ज - २०२५’ सम्पन्न 

श्रावण ३, २०८२

माधव अर्याल

'Kora Cycling Challenge - 2025' completed in Palpa

What you should know

पाल्पा — धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्दै पाल्पामा ‘कोरा साइक्लिङ च्यालेन्ज - २०२५’ सम्पन्न भएको छ ।

पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार ५५ किलोमिटर लामो दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेन्ज सम्पन्न भएको हो । 

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले साइक्लिङ च्यालेन्जको उद्घाटन गर्दै साइकल पर्यटनको विकास गर्न यात्रा सहयोगी हुने बताए । साइकलयात्रीलाई प्रोत्साहन गर्दै पाल्पा र तानसेनको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै गरिने यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख श्रेष्ठले बताए । 

टुँडिखेलबाट सुरु भएको साइकल र्‍याली दरबार परिसरमा भेला भएको थियो । सहभागीहरु दरबारदेखि तानसेनको बतासेडाँडा हुँदै भैरवस्थान मन्दिर पुगेका थिए । रिब्दीकोट गाउँपालिकाको जलेश्वर मन्दिरमा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीको समूहले स्वागत गरेको थियो ।

'Kora Cycling Challenge - 2025' completed in Palpa

जलेश्वरपछि मौसम राडर टावर हुँदै धुस्टुङ, लुलीभट्टी, मस्याम हटिया पुगेको पाल्पा साइक्लिङ संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । हटियादेखि डुम्रे, प्रभास हुँदै सिद्धार्थ राजमार्ग भएर पुनः तानसेन आएको थियो । कोरा साइक्लिङले जिल्लाको पर्यटन प्रचारप्रसारका साथै व्यक्तिको स्वास्थ्य र वातावरणीय सचेतना फैलाउने विश्वास लिइएको संघका अध्यक्ष रूपेश महर्जनले बताए । कार्यक्रममा ७५ जना साइकल यात्री सहभागी भएका थिए । 

संघले गत वर्ष दुई दिने ‘हेरिटेज राइड–२०८१’ सञ्चालन गरेको थियो । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully