मुद्दा नटुंगिदै बैंकको लिलामी सुरु, संस्थाको सम्पति जोगाउन हम्मे 

श्रावण ३, २०८२

रुपा गहतराज

As the case is not resolved, the auction of the bank has started, we are determined to protect the property of the institution

What you should know

नेपालगन्ज — वादी समुदायको लैंगिक र जातीय हिंसा अन्त्य गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास लगायतका सेवा सुविधामा पहुँच सुनिश्चित गर्ने संस्थाको उद्देश्य बोकेर वि.सं. २०४९ सालमा बाँकेमा स्थापना भएको सेफ नेपाल अहिले संस्थाको सम्पत्ति बचाउने अभियानमा लागेको छ ।

संस्थापक अध्यक्षले नै बदमासी गरिदिएपछि अहिलेका संस्थाका पदाधिकारी कार्यक्रम गर्नुभन्दा पनि संस्थाको सम्पत्ति जोगाउन दौडधुप गरिरहेका छन्।

सेफ नेपालको वर्तमान कार्यसमिति एक वर्षदेखि ‘सेफ नेपालको सम्पति तथा अस्तित्व बचाऊ अभियान’मा लागे पनि सम्पत्ति बैंकले लिलाम गर्न थालेपछि उनीहरु निराश भएका छन् ।

वादी समुदायको शिक्षामा ठूलो भूमिका खेलिरहेको शिक्षाका लागि सामाजिक जागरण (सेफ) नेपालका संस्थापक अध्यक्ष सुकलाल नेपालीले संस्थाको करोडौंको जग्गा आफ्नी श्रीमती रिना वादीको नाममा पास गराएर हिनामिना गरेका छन् । 

साविकको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा चार कठ्ठा जमिन (घरसमेत) श्रीमती रिनालाई २७ लाखमा बेचेको कागज बनाएर सुकलालले उक्त जग्गा बैंकमा राखेका छन् ।

२०८१ असार १३ गते संस्थाका वर्तमान अध्यक्ष अभिशेष नेपाली र रिना वादीका बीचमा साउन १५ गतेसम्ममा जग्गा फिर्ता गरिदिने सहमति भएको थियो । त्यसपछि संस्थापक अध्यक्ष सुकलाल र श्रीमती रिना फरार भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको सहमति पनि पालना भएन । २०८२ जेठ ४ गते बाँके जिल्ला अदालतले सुकलाल नेपालीलाई पक्राउ पूर्जी जारी गरेको छ । 

सात दिनमा पक्राउ नपरे ३५ दिने पक्राउ पुर्जीसमेत गरी तदारुकतासाथ खोजतलास गर्दै निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । प्रहरीले तदारुकता नदेखाउँदा त अदालतबाट भएको आदेश पनि पालना नहुँदा वर्तमान कार्यसमितिले न्याय पाउन सकेका छैनन् ।

सुकलालले वि.सं. २०७५ सालमै संस्थाको जग्गा श्रीमतीको नाममा पास गरेर एनआइसी एसियाबाट एक करोड ५० लाख रुपैयाँ लोन लिएका थिए । २०८१ असार १३ गते भएको भेलाले युवालाई अगाडि सार्ने भन्दै अभिशेष नेपालीलाई अध्यक्ष बनाएपछि र सम्पत्तिको खोजबिन गर्दा घोटालाको घटना बाहिर आएको हो ।

सेफ नेपालको वर्तमान अध्यक्ष अभिशेषका अनुसार, संस्थाको सम्पत्ति फिर्ताका लागि सुकलाल र उनकी श्रीमतीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । बैंकले सम्पत्ति लिलामका लागि ३५ दिने र ७ दिने सूचना निकालिसकेको छ । बैंकले लोन दिँदा जग्गा बिक्री वितरण रोक्ने गर्दछ । यता अहिलेका कार्यसमितिले पनि उक्त जग्गा बिक्री वितरण गर्न रोक्का गरेको छ ।

संस्थापक अध्यक्ष सुकलालले माइन्यूटमा आफैंले आफूलाई अख्तियारी दिएर श्रीमतीको नाममा जग्गा बेचेको देखिन्छ । संस्थाको जग्गा व्यक्तिलाई बिक्री गर्दा सम्बन्धित कार्यालयका कर्मचारीलाई पनि मिलाएको वर्तमान कार्यसमितिको आरोप रहेको छ ।

‘चार करोडको सम्पत्ति छ यो सानो कुरा होइन् । फिर्ताका लागि हामी एक वर्षदेखि प्रहरी प्रशासन अदालत धाइरहेका छौं । हामीलाई थाहा छ ढिलोचाँडो उक्त जग्गा संस्थाको नाममा आउँछ,’ तर हाम्रो मुद्दा नटुंगिदै बैंकले लिलाम गर्‍यो । यस्तो विवादित सम्पत्ति कसरी कुन मान्छेले किन्न सक्छ? अब फेरि हामीलाई अरुसँग मुद्दा लड्नुपर्ने  बाध्यता भयो,’ अध्यक्ष अभिशेषले भने, ‘समुदायको उद्धारका लागि अभियान गर्ने संस्थाको नै उद्धार गर्न सकेनौं ।’

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully