What you should know
कपिलवस्तु — एक वर्षमा ट्राफिक नियम उल्लघंन गर्ने १८ हजार ८७२ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । गत आव ०८१/८२ मा ट्राफिक नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेर एक करोड ४१ लाख ७१ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले बताए ।
सबैभन्दा धेरै ५ हजार ५९२ ट्रक र टिपर कारबाहीमा परेका छन् । त्यसबाट ६९ लाख ९ हजार ५ सय जरिवाना उठेको छ ।
त्यस्तै ४ हजार १३१ मोटरसाइकललाई कारबाही गरी ३५ लाख ९६ हजार जरिवाना संकलन भएको छ । २ हजार ७९० कार जिपबाट २४ लाख ५ सय तथा ५६० बस कारबाहीबाट ६ लाख ५ हजार ५ रुपैयाँ जरिवाना उठेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै ३६६ ट्याक्टर कारबाहीबाट ३ लाख ६६ हजार तथा अन्य ४३३ कारबाहीबाट ३ लाख ८५ हजार ५ सय जरिवाना संकलन भएको छ ।
दुर्घटनाका कारण, सवारी नियम र सडकको अवस्था हरेर चलाउन ट्राफिक प्रहरीले पटकपटक सचेतना कार्यक्रम गर्दे आएको छ । तर, पनि पनि चालकले लापर्बाही गरी सवारीसाधन चलाउँदा दुर्घटना बढिरहेको ट्राफिक प्रहरी निरीक्षक चुदालीले बताए । सवारी साधनको संख्या बढ्दै गए पनि सडक विस्तार नहुँदा पनि दुर्घटना बढेको उनले बताए ।
ट्राफिक नियम पालना नगर्नु, सवारी अनुमतिपत्र नलिई सवारी चलाउनु, सहचालकले सवारी चलाउनु र सडकको दुरावस्था पनि समस्या भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।
गत आवमा चालक, व्यवसायी, यात्रु र सर्वसाधारण गरी २ हजार ७० वटा ट्राफिक सचेतनामूलक कार्यक्रम चलाएर ७८ हजार ८ सय ८२ जनालाई सचेतना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लामा गत आवमा भएको सवारी दुर्घटनामा ८५ जनाले ज्यान गुमाएका छन् । ६ सय ८९ दुर्घटना भएकामा ८५ जनाले ज्यान गुमाएका हुन् । यस्तै दुर्घटनामा १ हजार १४४ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक निरञ्जनदत्त भट्टले बताए ।
आव ०८०/८१ मा दुर्घटनामा ८३ जनाको मृत्यु भएको थियो । जसमा ७ सय ११ दुर्घटनाका भएको र १ हजार १५० घाइते भएका थिए । तीव्र गति, क्षमताभन्दा बढी यात्रु, मादक पदार्थ सेवन गरेर नियम उल्लंघन गर्ने दुर्घटनामा पर्ने गरेको भट्ट बताए ।
