'श्रवण शक्ति' गुमाएका जुम्ल्याहा बालकलाई रोटरी क्लबद्वारा ६१ हजार सहयोग

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

61,000 support by Rotary Club to twins who have lost 'hearing power'

What you should know

भैरहवा — रूपन्देहीको भैरहवास्थित रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले श्रवण शक्ति गुमाएका र बोल्न नसक्ने दुई बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

क्लबको १० औं पदस्थापन कार्यक्रममा क्लबका अध्यक्ष विष्णु शर्माले ‘क्लबको पहिलो सेवा परियोजना’ अन्तर्गत श्रवण शक्ति र बोल्ने क्षमता नभएका जुम्ल्याहा बालक एरिक र इभान थारुको उपचारार्थ ६१ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए । 

उक्त सहयोग क्लबका अध्यक्ष शर्मा, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गर्भनर नोमिनी डा. ईश्वरीप्रसाद ढकाल लगायतले बालकका बुवा–आमालाई हस्तान्तरण गरेका हुन् । 

कपिलवस्तुको वाणगंगा नगरपालिका–३ स्थायी घर भई अहिले सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु र सुनिता कार्कीका साढे ४ वर्षका जुम्ल्याहा छोरा एरिक र इभानको जन्मजातै कान नसुन्ने समस्या छ । दुवै बालकको कानमा कक्लियर इम्प्लान्ट राख्न कम्तीमा ४० लाख रुपैयाँ लाग्ने चिकित्सकले जनाएका छन् । 

आर्थिक अवस्था कमजोर भएपछि परिवारले सहयोगको अपिल गरेका छन् । बालकको उपचारका लागि क्लबले अन्य रोटरी क्लब र संघसंस्थालाई समेत सहयोगको आग्रह गरेको छ । अध्यक्ष शर्माले सानो सहयोगले बालकको भविष्य उज्वल गराउन योगदान पुग्ने भएकाले सबैलाई सहयोग गर्न अपिल गरेको बताए ।

क्लबका पूर्वअध्यक्ष तथा सेवा परियोजना संयोजक हिराबहादुर शाहले जन्मजात श्रवण र बोली क्षमता नभएका बालकलाई सबै रोटेरियनहरूका तर्फबाट सहयोग उठाएर उपलब्ध गराइएको बताए । यसअघि सिद्धार्थनगर उद्योग वाणिज्य संघले दुवै बालकलाई १ लाख ४३ हजार रुपैयाँ सहयोग गरेको थियो ।

कान्तिपुर

Link copied successfully