निकुञ्जमा सेनाद्वारा कुटपिट घटनामा तीन बुँदे सहमति

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Three points of agreement on the beating incident by the army in the park

What you should know

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाले सौराहाका युवालाई कुटपिट गरेको घटनामा तीन बुँदे सहमति भएको छ । शुक्रबार पीडित पक्ष र सेनाको गुल्म पक्षबीच चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय प्रमुख लगायतका सरोकारवालाहरुको रोहबरमा सहमति भएको हो ।

बिहीबार कुटपिटमा परेका ३१ वर्षीय गोविन्द राउतको भरतपुरमा उपचार भइरहेको छ ।

घटनामा निकुञ्जमा तैनाथ नयाँ गोरख गणको सौराहामा तैनाथ ‘क’ गुल्मका दुधौरा पोष्टका एकजना प्युठ र दुईजना सिपाही संलग्न भएको जनाइएको छ । घाइतेको उपचारमा लाग्ने सबै खर्च सौराहाको गुल्मले बेहोर्ने सहमति भएको छ । त्यसैगरी घटनामा संलग्न भएको भनिएका गस्तीमा संलग्न सैनिकहरुलाई आवश्यक छानबिनपछि सैनिक ऐनअनुसार विभागीय कारबाही गर्ने पनि सहमति भएको छ ।

घाइते निको भएपछि सबै पक्ष बसेर मिलापत्र गर्ने सहमति पनि भएको छ । सौराहा आडको खोरसोर वन क्षेत्रमा उक्त घटना भएको थियो । घाइते राउतले गर्भवती श्रीमतीले निउरोको साग खाने भनेपछि स्थानीय महिलाहरुसॅगै जंगल गएको र फर्कंदा साँझ ७ बजेतिर गस्तीमा रहेका सैनिकसॅग भेट भएको बताए । ‘साथीहरु अर्को बाटो र म एक्लै अर्को छिट्टो निस्कने बाटो फर्कन लाग्दा सेनासॅग भेट भयो,’ उनले भने ।

कुटपिटबाट पैतला, घुँडा, टाउको र ढाडमा निलडाम परेको दिदी कौशिला राउतले बताइन् । उनलाई बिहीबार साँझ भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको थियो । सोही अस्पतालमा भर्ना भएर घाइते राउतको उपचार भइरहेको छ । रत्ननगर नगरपालिका–७ सौराहा चराचोक नजिक घर भएका राउत निकुञ्जमा पर्यटक डुलाउने पथप्रदर्शक (नेचर गाइड) पनि हुन् । 

‘केही गलत गरेको भए कारबाही गर्दा हुन्थ्यो, तर ब्यर्थैमा यसरी कुटपिट गरे’ दिदी कौशिलाले भनिन् । चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापामगरले जंगल क्षेत्रमा एक्लै देखेपछि रोक्न खोज्दा झोला भ्याकेर राउत भागेको बताए । ‘यस्तो भएपछि व्यक्तिलाई समाउनु पर्‍यो । समाउन खोज्दा उनैले ढुंगाले हानेको सूचना छ । हामीबाट कुटपिट भएको हैन’ सूचना अधिकारी थापामगरले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully