रुरुक्षेत्र गाउँपालिका कार्यालयमा ५ दिनदेखि खुलेन ताला

गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा लागेको ताला अझै नखुलेपछि कर्मचारी संगठनहरूले विरोध जनाएका छन्

श्रावण २, २०८२

सन्तोष महतारा

The Rurukshetra rural municipality office has not been locked for 5 days

What you should know

गुल्मी — रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा लागेको तालाबन्दी अझै खुल्न सकेको छैन । पाँच दिनदेखि भइरहेको तालाबन्दीकाे जिल्लास्थित कर्मचारी संगठनहरूले विरोध जनाएका छन् ।

निजामती कर्मचारीकाे आधिकारिक ट्रेड युनियन गुल्मी, नेपाल निजामती कर्मचारी संगठन गुल्मी, नेपाल निजामती कर्मचारी युनियन गुल्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) गुल्मीले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र तालाबन्दी खुलाउन र प्रशासनिक कामकाज सुरु गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।

रुरुक्षेत्रमा असार ३० गते नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीले तालाबन्दी गरेको छ । विद्यालयमा डिजिटल बाेर्ड खरिद गर्ने विषयमा नीतिगत त्रुटि भएको र खरिद भइसकेका बाेर्डकाे भुक्तानी नभएको भन्दै विरोध जनाउँदै तालाबन्दी गरेको थियो ।

यस विषयमा रुरुक्षेत्रमा गाउँपालिकाले गलत गर्ने कुनै नियत नभएको र प्रक्रिया पूरा नभई विद्यालयमा जडान गरेका डिजिटल बाेर्डकाे भुक्तानी नभएको जनाएको छ । यससम्बन्धी संवैधानिक निकायबाटै अनुसन्धान भइरहेको विषयमा तालाबन्दी गर्नु गलत भएको रुरुक्षेत्र गाउँपालिका प्रवक्ता हरिप्रसाद ज्ञवालीले बताएका थिए ।

निजामती कर्मचारीकाे आधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष खिमबहादुर अधिकारी नेतृत्वमा कर्मचारी संगठनहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । 'कर्मचारीलाई हतोत्साहित र नागरिकलाई सेवाबाट वञ्चित गराउन पाइँदैन,' उनले भने, 'कानुनी र संवैधानिक उपचारकाे बाटाेमा जानुको सट्टा तालाबन्दी गर्नु गलत हो ।'

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख अधिकारी हरिप्रसाद गैरेले यस विषयमा आफूहरूकाे ध्यानाकर्षण भएको बताए । 'हामी यस विषयमा गम्भीर र प्रयत्नशील छाैँ,' उनले भने, 'सम्बन्धित निकायसँग समन्वय गर्छौं ।'

गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यालयकाे प्रतीक्षालय र गाउँगाउँमा पुगेर प्रदान गर्नुपर्ने सेवा प्रवाह गरिरहेका छन् ।

सन्तोष महतारा

Link copied successfully