उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा एक वर्ष नाघेका मुद्दाको संख्या शून्य

श्रावण २, २०८२

रुपा गहतराज

The number of cases exceeding one year in High Court Tulsipur Nepalganj Bench is zero

What you should know

नेपालगन्ज — उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा एक वर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएको छ । 

इजलासले २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा कुल लगत २६४६ रहेकामा २००४ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिइयो । जिम्मेवारी सरी आएका ७७४ र नयाँ दर्ता भएका १८७२ मुद्दा ध्ये जिम्मेवारी सरी आएका सबै र नयाँमध्ये १२३० मुद्दा फर्छ्यौट भएका हुन् । योजनाको लक्ष्यको तुलनामा फर्छ्यौट प्रतिशत १२२.४२ रहेको छ । 

मुख्य न्यायाधीश चन्द्रबहादुर सारुका अनुसार गत आर्थिक वर्षमा ७१.४१ प्रतिशत मुद्दा फर्छ्यौट भएका थिए । अदातलको रेकर्डअनुसार प्रत्येक वर्ष मुद्दा फर्छ्यौट दर बढ्दै गएको छ । फर्छ्यौट मुद्दामध्ये जबरजस्ती करणी १४८, लागुऔषध १५१, मानव बेचबिखन तथा ओसारपसार २८, ज्यानसम्बन्धी कसुर १५५, सम्बन्ध विच्छेद ५०, अन्य मुद्दा १०६३ तथा रिट र निषेधाज्ञा ४०९ रहेका छन् ।

यसैगरी जिल्ला अदालत बाँकेले २०८१/८२ मा ५९.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंका अनुसार योजनाको लक्ष्यको तुलनामा ८९.५० प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । कुल ७८०४ मुद्दामा ४६५८ वटा मुद्दा फर्छ्यौट भएका छन् । जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दा भने अझै ५३ वटा छन् । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully