रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको तालाबन्दी खुल्यो

श्रावण २, २०८२

सन्तोष महतारा

Rurukshetra rural municipality president and administrative officer's office was locked

What you should know

गुल्मी — रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको तालाबन्दी पाँच दिनपछि खुलेको छ । शुक्रबार जिल्ला सुरक्षा समिति गुल्मीको निर्णयअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मीले सुरक्षा प्रदान गरेर रुरुक्षेत्र गाउँपालिकाका कर्मचारीले तालाबन्दी खोलेका हुन् ।

रुरुक्षेत्रमा असार ३० गते एमाले रुरुक्षेत्र गाउँ कमिटीले तालाबन्दी गरेको थियो । विद्यालयमा डिजिटल बोर्ड खरिद गर्ने विषयमा नीतिगत त्रुटि भएको र खरिद भइसकेका बोर्डको भुक्तानी नभएको भन्दै विरोध जनाउँदै तालाबन्दी गरेको थियो । यस विषयमा रुरुक्षेत्रमा गाउँपालिकाले गलत गर्ने कुनै नियत नभएको र प्रक्रिया पूरा नभई विद्यालयमा जडान गरेका डिजिटल बोर्डको भुक्तानी नभएको जनाएको थियो । यससम्बन्धी संवैधानिक निकायबाटै अनुसन्धान भइरहेको विषयमा तालाबन्दी गर्नु गलत भएको रुरुक्षेत्र गाउँपालिका प्रवक्ता हरिप्रसाद ज्ञवालीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका थिए । 

गुल्मी निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले स्थानीय तहमा लागेको तालाबन्दीमा गम्भीर हुँदै  प्रशासनिक सेवा प्रदान गर्न तालाबन्दी हटाउन सुरक्षा प्रदान गर्ने निर्णय भएको बताए । जसअनुसार स्थानीय पालिकामा तालाबन्दी खुलेको उनले बताए । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यालयको प्रतीक्षालय र गाउँगाउँमा पुगेर प्रदान गर्नुपर्ने सेवा प्रवाह गरिरहेका थिए ।

यस विषयमा शुक्रबारमात्रै पनि निजामती कर्मचारी आबद्ध गुल्मीस्थित सम्पूर्ण संगठनहरूले यथाशीघ्र ताला खोल्न भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापनपत्र बुझाएका थिए । 

सन्तोष

Link copied successfully