What you should know
भैरहवा — आर्थिक वर्षको अन्त्यमा मात्रै चालु र पुँजीगत खर्च ह्वात्तै वृद्धि गर्ने परम्परा रुपन्देहीमा पनि देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का अनुसार जिल्लास्थित कार्यालयहरूले अन्य महिनाको तुलनामा असारमा धेरै खर्च गरेको देखिएको छ ।
असारमा मात्रै धेरै विकास निर्माणका कार्य भएर भुक्तानी नभएको कार्यालयले जनाएको छ । पुराना कामको खर्च पनि विविध कारण असारमै भुक्तानी गर्ने प्रचलनका कारण खर्च धेरै देखिएको कार्यालयको भनाइ छ । प्रमुख कोष नियन्त्रक मञ्जुकुमारी जैसी ढकालका अनुसार असारमा मात्रै पुँजीगततर्फ ३ अर्ब २९ करोड ४८ लाख ३३ हजार १ सय ८४ रुपैयाँ खर्च भएको छ । जुन कुल खर्च ८ अर्ब १७ करोड ४३ लाख ८ हजार ८ सय ७४ को ४० दशमलव ३३ प्रतिशत हो ।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा जिल्लाका संघीय कार्यालयहरूले पुँजीगततर्फ २०८१/०८२ मा १६७.७९ प्रतिशतले बढी खर्च गरेको बताइन् । विगतको तुलनामा समग्रमा जिल्लाको पुँजीगत खर्चलाई राम्रो मान्नुपर्ने उनको भनाइ छ । उनका अनुसार चालुतर्फ कुल १६ अर्ब ९१ करोड २३ लाख १० हजार ९ सय ६९ रुपैयाँ खर्च भएकोमध्ये असारमा मात्रै १ अर्ब ७९ करोड ३१ लाख ७२ हजार २ सय ४४ रुपैयाँ खर्च भएको छ । कार्यालयका अनुसार समग्रमा विगतको तुलनामा जिल्लामा पुँजीगत (विकास) खर्चमा सुधार देखिएको छ ।
‘आर्थिक वर्षको सुरुमा टेन्डर आह्वानमै ढिलाइ हुँदा बर्सेनि विकास खर्च न्यून भइरहेको छ,’ कार्यालय प्रमुख जैसी ढकालले भनिन्, ‘आर्थिक वर्ष २०८१/०८२ मा विगतका वर्षको भन्दा विकास खर्च सन्तोषजनक रहेको छ ।’
कार्यालयका अनुसार गत आर्थिक वर्षका लागि ३१ अर्ब ८० करोड ७ लाख ३० हजार ९ सय ३७ रुपैयाँ अख्तियारी मिलेको थियो । त्यसमध्ये पुँजीगततर्फ १८ अर्ब ४५ करोड ६० लाख ५४ हजार ९ सय ६९ र चालुतर्फ १३ अर्ब ३४ करोड ४६ लाख ७५ हजार ९ सय ६८ रुपैयाँ अख्तियारी आएको थियो । जिल्लामा अख्तियारी प्राप्त कुल बजेटको २५ अर्ब ८ करोड २७ लाख ४९ हजार ८ सय ४३ रुपैयाँ अर्थात् ७८.८७ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ कुल रकमको ८ अर्ब १७ करोड ४३ लाख ८ हजार ८ सय ७४ रुपैयाँ अर्थात् ६०.७२ प्रतिशत खर्च भएको छ ।
जिल्लामा चालुतर्फ कुल बजेटमध्ये १६ अर्ब ९१ करोड २३ लाख १० हजार ९ सय ६९ रुपैयाँ अर्थात् ९२.१९ प्रतिशत खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ९१.३० प्रतिशत बजेट खर्च भएको थियो । कोलेनिकाका अनुसार राजस्व संकलन भने गत वर्षभन्दा बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा रुपन्देही जिल्लाबाट १ खर्ब २० अर्ब ६९ करोड ८८ लाख ४६ हजार ८ सय २६ रुपैयाँ राजस्व संकलन भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ भन्दा १५.१६ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष जिल्लाबाट १ खर्ब ४ अर्ब ८१ करोड ३८ लाख १० हजार ६ सय ९४ रुपैयाँ राजस्व संकलन भएको थियो । भैरहवा भन्सार कार्यालयको १७.७५ प्रतिशत, आन्तरिक राजस्व कार्यालय भैरहवाको २५.६०, आन्तरिक राजस्व बुटवलको १०.१६ र अध्यागमन कार्यालयको २.२० प्रतिशतले राजस्व संकलन दर वृद्धि भएकाले समग्रमा रुपन्देहीबाट राजस्व संकलन वृद्धि भएको कोलेनिकाले जनाएको छ ।
जिल्लामा सहरी विकास तथा भवन निर्माण कार्यालय र गैडहवा गाउँपालिकाले शतप्रतिशत बजेट खर्च गरेका छन्। भने धेरै विकासे अड्डाले सन्तोषजनक खर्च गर्न सकेका छैनन् । सबैभन्दा बढी बजेट पाएको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजनाले जम्मा ४८, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले ४९, संघीय आयोजना कार्यान्वयन इकाईले ६२, आर्थिक कोरिडोर कार्यालयले ४८, जनताको तटबन्ध कार्यक्रम कार्यालयले ५७, सडक डिभिजन बुटवलले ८४ प्रतिशत बजेट खर्च गरेका छन् ।
