रूपन्देही सीमाबाट एक वर्षमा सवा १३ करोडका भन्सार छलीका सामान बरामद

श्रावण २, २०८२

दीपेन्द्र बडुवाल

Customs evasion goods worth around 130 million were recovered from Rupandehi border in one year

What you should know

काठमाडौँ — रुपन्देहीस्थित सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले एक वर्षमा सवा १३ करोडका भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर २७ हेड क्वार्टर गणले आर्थिक वर्ष २०८१/०८२ मा अवैध तरिकाले भित्र्याइएका सामान बरामद गरेको हो ।

गणका सूचना अधिकारी एवं डीएसपी मोहन न्यौपानेका अनुसार गत साउनदेखि असार मसान्तसम्म १३ करोड १० लाख ३९ हजार ९८९ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको हो ।

डीएसपी न्यौपानेका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट नेपालतर्फ हुने गरेको तस्करी नियन्त्रणमा कडाइ गरिएपछि सामान बरामद गर्न सफलता मिलेको हो । उनका अनुसार सशस्त्रले एक वर्षमा लत्ताकपडा मात्रै २ करोड ७३ लाख ७७ हजार १७४ रुपैयाँ बराबरको बरामद गरेको छ । यस्तै, अन्य ट्रक, मिनी ट्रक, ट्याक्टर ८, कार, भ्यान, छोटा हात्ती १०, अटो रिक्सा ५, मोटरसाइकल १ सय ७५ र साइकल १० गरी २ सय ८ वटा सवारी नियन्त्रणमा लिइएको छ । यी सवारीलाई ४ करोड २२ लाख २७ हजार ४ सय १ रुपैयाँ मूल्य कायम गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालय बुझाइएको छ ।

राजस्व कार्यालयसँग संयुक्त तथा एकल रुपमा गरिएको गस्तीका क्रममा २ करोड १९ लाख ३० हजार ८४५ रुपैयाँ बराबरको सामान बरामद गरिएको डीएसपी न्यौपानेले बताए । उनका अनुसार ९५ लाख ५२ हजार ८९ रुपैयाँको चिनी बरामद गरिएको छ । यस्तै, दाल, चामल, मटर, चना लगायतका खाद्यान्न ७ लाख ८७ हजार ५५०, कस्मेटिक १४ लाख ९६ हजार २८५, भाडाबर्तन ९९ हजार ८०२, मोबाइल फोन ९ लाख, प्याज ५ लाख २१ हजार ६७०, हार्डवेयर ७ लाख ९६ हजार २२३ रुपैयाँ बराबरको बरामद गरिएको छ ।

मोटर, मोबाइल पार्टस्, इलेक्ट्रिक्स सामान ७५ लाख ७६ हजार ९८३, नगद (नेपाली तथा भारतीय रुपैयाँ) २० लाख ६० हजार, आयुर्वेदिक तथा एलोपेथिक औषधि ४६ लाख ३ हजार ४८६, मदिरा ३६ हजार मूल्य बराबरको बरामद गरिएको छ । यसैगरी ब्रोइलर कुखुरा, मासु, माछा, किराना सामान, रासायनिक विषादी, हरियो तरकारी, पटका, पशु चौपाया, नदीजन्य पदार्थ पनि लाखौं रुपैयाँको बरामद गरिएको डीएसपी न्यौपानेले बताए ।

राजस्व छली गरी चोरी निकासी–पैठारी गर्न लागिएका उल्लेखित मूल्य कायम भएका सामान बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह र पशु तथा प्लान्ट क्वारेन्टाइन कार्यालयहरुमा बुझाइएको सशस्त्रले जनाएको छ ।

यस अवधिमा सशस्त्रले मर्चवारी गाउँपालिका–७, मन्झरियामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । यससँगै जिल्लामा प्रस्तावित सीमा सुरक्षा गुल्म १, बीओपी ६ गरी जम्मा ७ वटा कार्यालय भएका छन् । बेलहियामा नाकामा लागुऔषध तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले डग स्क्वाडसहित यात्रुहरु तथा सामानको जाँच सुरु गरिएको छ ।

दीपेन्द्र बडुवाल

Link copied successfully