परासी — लामो समयदेखि वर्षा नहुँदा पश्चिम नवलपरासीका किसान चिन्तित भएका छन् । भूमिगत र कुलो, नहरको पानीमार्फत रोपाइँ गरे पनि वर्षा नहुँदा खेतमा धाँजा फाट्न थालेको छ ।
भूमिगत सिँचाइको व्यवस्था भएको स्थानमा पनि दुई-दुई दिनमा सिँचाइ गर्नुपर्ने अवस्था आउँदा इन्धन धेरै लाग्ने हुँदा किसान मर्कामा परेका छन् । जिल्लामा अहिलेसम्म ९० प्रतिशत रोपाइँ भएको र रोपेको धान पानीको अभावमा पहेँलो हुन लागेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख रविन्द्रनाथ चौवेले बताए ।
रोपाइँ गर्न बाकी रहेका किसान आकासे पानी कुरेर बसेका छन् । रोपो ठूलो भइसकेको र आगामी एक साताभित्र रोपाइँ गर्न नपाउने हो भने खेत बाँझै हुने सरावल-४ का मनिष चौधरीले बताए । ‘असारको पहिलो साता परेको वर्षाले कुलो र पोखरीमा पानी जम्मा भएको थियो । त्यही पानीको प्रयोग गरेर रोपाइँ गरियो,’ उनले भने, ‘पानी पर्ला जस्तो हुन्छ, परिहाल्यो भने पनि सिमसिम मात्र परेको छ ।’
जिल्लामा हावाहुरीसहित सामान्य वर्षा भए पनि रोपाइँ गर्न मिल्ने वर्षा भएको छैन । जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
