रेसुंगामा साउने मेला

श्रावण १, २०८२

सन्तोष महतारा

Saune Mela at Resunga

गुल्मी — प्रकृतिको अनुपम उपहार गुल्मीको रेसुङ्गामा साउनभरि मेला लाग्ने गर्दछ । यस वर्ष पनि साउने मेलामा रेसुङ्गा संरक्षण समिति र मन्दिर व्यवस्थापन समितिमार्फत दैनिक पूजाआजासहित प्रवचन लगायतका कार्यक्रम सुरु भएका छन् ।

साउनभरि महापोखरीको स्नान, चिटिक्क परेको सिँढी, दायाँ र बायाँ निकै मनमोहक दृश्य, प्राकृतिक शीतलता र चराचुरुङ्गीको रमणीय आवाजले रेसुङ्गामा आनन्द लाग्छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।

रेसुङ्गामा सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैँसी सधैँ दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र समुन्नति हुने विश्वास रहिआएको छ ।

साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल लगायतका स्थानबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्छन् । रेसुङ्गाबाट  धौलागिरि, निलगिरि, माछापुर्च्छ्रे जस्ता हिम श्रृंखला पनि रेसुङ्गाबाट देख्न सकिन्छ । यहाँ पर्यटकहरू वनविहार गर्दै विभिन्न हिमशृंखलाको दृश्यावलोकनमा रमाउने गर्छन् ।

रेसुङ्गा पोखरी, यज्ञशाला, गौशाला, सिद्ध मन्दिर, भ्युटावरलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएकाले भक्तजनको घुइँचो नै लाग्ने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । ‘पर्यटकका लागि निःशुल्क आवास र खानाको व्यवस्था छ,’ उनले भने, ‘देव, अमृत, पुण्य र सिद्ध भूमि रेसुङ्गा पर्यटकको तपोभूमि हो ।’ रेसुङ्गा संरक्षण समितिले साउनभर लाग्ने मेलालाई व्यवस्थित गर्दै लगेको छ ।

रेसुङ्गा क्षेत्र फागुन, चैत र वैशाखमा लालीगुराँस फूलेर राताम्ये हुन्छ । पुस र माघमा हिउँ परेर सेताम्ये हुन्छ । साउनमा साउने मेलामा हजारौं पर्यटक भित्रिन्छन् । रेसुङ्गा नगरपालिकाले रेसुङ्गा क्षेत्रमा पर्यटक बढाउन ‘जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरेको छ । जसका कारण रेसुङ्गा घुम्ने आन्तरिक र बाह्य पर्यटक बढ्ने गरेका छन् ।

सामुन्द्रिक सतहदेखि २ हजार ३ सय मिटर उचाइमा रहेको रेसुङ्गा क्षेत्र बाह्रै महिना शीतलता प्रदान गर्दछ । यो जैविक विविधताले भरिपूर्ण नेपालकै महत्त्वपूर्ण क्षेत्र हो । लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवलबाट १ सय १३ किलोमिटरमा तम्घास र यहाँबाट ६ किलोमिटर सडक पार गरेपछि रेसुङ्गा क्षेत्र पुगिन्छ ।

सन्तोष

Link copied successfully