रुपन्देही अदालतले एक वर्षमा गर्‍यो साढे ५ हजारभन्दा बढी मुद्दा फर्छ्यौट

श्रावण १, २०८२

दीपेन्द्र बडुवाल

Rupandehi Court disposed of more than 5,500 cases in one year

भैरहवा — रुपन्देही जिल्ला अदालतले गत आर्थिक वर्ष मुद्दा फर्छ्यौटमा उलेख्य प्रगति हासिल गरेको छ । अदालतले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत वर्ष ९ दशमलव ०९ प्रतिशतले मुद्दा फर्छ्यौट दर वृद्धि भएको हो । 

अघिल्लो वर्ष ५५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतले गत वर्ष ६४ दशमलव ०९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको हो । अदालतले वार्षिक समीक्षा कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएको हो । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले अघिल्लो वर्षबाट लगत सरी आएका र नयाँ दर्ता भएका कुल ९ हजार ४१ मुद्दामध्ये गत वर्ष ५ हजार ७९५ मुद्दा फर्छ्यौट गरिएको जानकारी दिए । जुन कुल मुद्दाको ६४ दशमलब ०९ प्रतिशत भएको उनले बताए ।

न्यायाधीश बस्नेतका अनुसार अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार ९ सय ६० मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षबाट ४ हजार ८१ मुद्दा जिम्मेवारी सरेर आएका थिए । उनका अनुसार अदालतले गत वर्ष ६ हजार ४ सय ९२ मुद्दा फर्छ्यौट लक्ष्य राखेको थियो । ‘हाल अदालतमा ३ हजार २ सय ४६ मुद्दा विचारधीन छन्’, उनले भने, ‘वार्षिक ५ सयभन्दा बढी मुद्दा दर्ता हुने मुलुकभरका अदालतमध्ये हामी फर्छ्यौट दरका आधारमा दोस्रोमा छौं ।’

बस्नेतका अनुसार अदालतमा अहिले २ वर्ष अवधि नाघेका विचारधीन मुद्दा ९ वटामात्रै छन् । १८ महिनादेखि २ वर्षभित्रका १ सय ५५ र १८ महिना भित्रका मुद्दा ३ हजार ८ सय २२ मुद्दा छन् । अदालतले आव २०८१/०८२ मा १ हजार ३ सय ७५ वर्ष ५ महिना ६ दिन कैद असुलउपर गरेको छ । अझै ३ हजार ४ सय ९८ वर्ष ४ महिना १ दिन असुल गर्न बाँकी छ । यस्तै, ७ करोड ९७ लाख ९१ हजार १ सय ५३ रुपैयाँ जरिवाना असुलउपर हुादा ९४ करोड १२ लाख ८० हजार ४ सय ५४ रुपैयाँ असुल गर्न बाँकी छ ।

अदालतले २ हजार ९ सय ६७ वटा फैसला कार्यान्वयन गरेको छ भने अझै १ हजार ७ सय ४० फैसला कार्यान्वयन गर्न बाँकी छन् । यस्तै, पारिवारिक इजलासमा रहेका ५ सय ६१ वटा मुद्दामध्ये ३ सय ८२ वटा फर्छ्यौट गरिएको छ । रुपन्देही जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ बाट मात्रै पारिवारिक इजलास सञ्चालन भएको थियो । 

न्यायाधीश बस्नेतका अनुसार अदालतले मेलामिलापमार्फत् १ सय २५ वटा मुद्दा टुंग्याएको छ । कुल मुद्दा १ हजार ६ सय १५ दर्ता भएकोमा १ हजार ४ सय १ वटा भने मेलमिलापबाट सफल हुन सकेका छैनन् । ८९ वटा मुद्दा भने विचाराधीन अवस्थामा छन् । अदालतका अनुसार जिल्लामा पछिल्लो समय बैंकिङ कसूर, चेकअनादर, लागूऔषध, सवारी ज्यान, सम्बन्ध विच्छेद, अंश मानाचामललगायतका मुद्दा बढी मात्रामा दर्ता भइरहेका छन् ।

दीपेन्द्र बडुवाल

Link copied successfully