जबरजस्ती करणी र सम्बन्धविच्छेदका घटना बढ्दै

मदिरा र वैदेशिक रोजगारी प्रमुख कारण

श्रावण १, २०८२

सन्तोष महतारा

Increasing cases of rape and divorce

गुल्मी — पछिल्ला वर्षमा जबरजस्ती करणी र सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जबरजस्ती करणीका ३२ र सम्बन्धविच्छेदका ४ सय ५३ मुद्दा परेका छन् । 

बुधबार गुल्मी जिल्ला अदालतले संचारकर्मीसँग भेटघाट गर्दै वार्षिक प्रगति समीक्षा गरेको हो । जसमा नयाँ दर्ता भएका मुद्दा ५ सय ७१ र जिम्मेवारी सरेर आएका १ सय ९४ गरी कुल ७ सय ६५ मुद्दा रहेका थिए । जसमा ५ सय ५५ वटाको फर्स्योट भएको गुल्मी जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । अब २ सय १० मुद्दा फैसला हुन बाँकी छन् । जुन आगामी वर्षका लागि जिम्मेवारी सरेर जानेछन् ।

सम्बन्धविच्छेदका मुद्दामा पुरुष वादी रहेका ७१ र महिला वादी रहेका ३ सय ८२ थान रहेका छन् । यीमध्ये ३ सय ३८ मुद्दा फैसला भइसकेका छन् । 

गुल्मी जिल्ला अदालतका न्यायाधीश युवराज गौतमले सामाजिक पक्षमा केही चिन्ताजनक तथ्यांक रहेको बताए । ‘जबरजस्ती करणी र सम्बन्धविच्छेदका घटना बढ्नुले सामाजिक पक्षलाई चित्रण गरेको हुन्छ,’ उनले भने, ‘यी घटनाको मुख्य कारण मादक पदार्थ सेवन र वैदेशिक रोजगारी देखिन्छ ।’ मादक पदार्थ सेवन गरेका कारण विभिन्न जबरजस्ती करणीका घटना भएका छन् । साथै परिवारमा श्रीमान् वा श्रीमती एक जना वैदेशिक रोजगारीमा भएका कारण पारिवारिक कलह, अर्कैसँगको अनैतिक सम्बन्ध र आर्थिक कारोबार बिग्रिएका कारण सम्बन्धविच्छेद हुने गरेका छन् । 

साथै गुल्मी जिल्लामा आएमा मुद्दाहरूमध्ये मेलमिलापबाट समाधान हुने मुद्दा अत्यन्तै कम छन् । मेलमिलापका लागि पठाइएका १ सय १ मुद्दामध्ये १७ वटा सफल भएका छन् । ७८ मुद्दा मेलमिलापका लागि पठाइए पनि असफल रहे । 

पछिल्ला ५ वर्षको तथ्यांक हेर्ने हो भने मुद्दा दर्ता र पर्स्योटमा संख्या तलमाथि भइरहेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा ५ सय ६० मुद्दा दर्ता भएकामा ३ सय ७१ फर्स्योट भएका थिए । त्यसै गरी ०७८/७९ मा ६ सय ९९ दर्ता भएकामा ५ सय १०, ०७९/८० मा ७ सय १२ दर्ता भएकामा ५ सय ७६, २०८०/८१ मा ६ सय ७४ दर्ता भएकामा ४ सय ८० र ०८१/८२ मा ७ सय ६५ मुद्दा दर्ता भएकामा ५ सय ५५ वटा फर्स्योट भएका छन् ।

सन्तोष

Link copied successfully