What you should know
दाङ — उधारोमा राँगा भैंसी खरिद गरी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गढवा गाउँपालिका–४, पर्साका ४४ वर्षीय मोहम्मद जमिल मुसलमानलाई प्रहरीले बुधबार पक्राउ गरी थप अनुसन्धान थालेको छ ।
दंगिशरण गाउँपालिका–४, सुकदेवाका तेजमान चौधरीलगायत तीन जना व्यक्तिबाट २ लाख ८० हजार रुपैयाँमा ६ वटा राँगा उधारोमा खरिद गरी लगेकोमा ठगी गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका हुन् । २०८० माघ २३ गते खरिद गरेकोमा लामो समयसम्म पनि पैसा नपाएपछि पीडितहरुले ०८१ मंसिर २१ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
प्रशासन कार्यालयले निवेदनमा आवश्यक अनुसन्धान गर्न सोही दिन नै जिल्ला प्रहरी कार्यालयमा लेखी पठाएको थियो । प्रहरीले पटकपटक फोन गरी बोलाउँदा पनि मुसलमान सम्पर्कमा नआएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
पीडितमध्येका चौधरीले मुसलमानलाई गत वैशाख २२ गते लमहीमा भेटी पैसा माग्दा उल्टै धाकधम्की दिई अभद्र व्यवहार गरेको भनी २५ गते जिल्ला प्रहरीमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा मुसलमानलाई पक्राउ गरेको शाहले जानकारी दिए । उनीबाट अन्य व्यक्तिहरु पनि ठगीएको हुनसक्ने देखिएकाले ठगिएको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न शाहले सबैलाई आह्वान गरेका छन् ।
