भैरहवा — रूपन्देही प्रहरीले एक वर्ष अवधिमा विभिन्न नाका हुँदै भन्सार छलेर भारतबाट भित्र्याइएका १२ करोड ६७ लाख ७१ हजार ७ सय ७९ रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
प्रहरीले पत्रकार सम्मेलन आयोजना गरेर गत साउनदेखि असार मसान्तसम्म जिल्ला प्रहरी र मातहत युनिटबाट खटिएका टोलीले तस्करी गरेर भित्र्याइएका सामान बरामद गरेको जनाएको हो ।
प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार तस्करी नियन्त्रणका लागि परिचालन गरिएका टोलीले जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर भित्र्याइएका सामान बरामद गरेका हुन् । यस अवधिमा गत पुसमा सबैभन्दा थोरै ३८ लाख ८३ हजार ४ सय ८० र जेठमा सबैभन्दा धेरै २ करोड ९७ लाख ६५ हजार ९ सय ३४ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
एक वर्ष अवधिमा भन्सार छली/तस्करीमा संलग्न आरोपमा १ सय १३ जना पक्राउ परेका छन् । प्रहरी उपरीक्षक क्षेत्रीका अनुसार गत माघमा एकजना पनि पक्राउ गरिएको छैन भने असारमा ४३ जना पक्राउ गरिएको हो । यसरी पक्राउ व्यक्तिलाई उनीहरुको कसुरअनुसार आवश्यक कारबाहीका लागि भैरहवा भन्सार, पशु चेकपोस्ट र राजस्व अनुसन्धान कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले गत साउनदेखि असार मसान्तसम्म भन्सार छलेर भित्र्याइएका सामान ओसारपसारमा प्रयोग गरिएका ३ सय ३४ सवारीका साधन बरामद गरिएको जनाएको छ । यस अवघिमा ३ सय २ मोटरसाइकल, ८ ट्रक, १७ पिकअप भ्यान, ६ अटोरिक्सा र एउटा ट्रयाक्टर बरामद गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए । ‘पछिल्लो समय जिल्लामा नाकामा कडाइ गरिएको छ,’ उनले भने, ‘भन्सार छलेर समान ल्याउने सम्भावना छैन, ल्याइहालेपनि पक्राउ र बरामद गरिएको छ ।’
प्रहरीले एक वर्षमा ८ सय २३ जना फरार अभियुक्त पक्राउ गरेको छ । यसरी पक्राउ व्यक्तिबाट जम्मा ५ सय ६ वर्ष दुई महिना १२ दिन कैद र ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ । यस अवधिमा जिल्लाभर विभिन्न शीर्षकमा १ हजार ७ सय ७ मुद्दा दर्ता गरिएकामा १ हजार १ सय ४५ मुद्दा फछर्यौट गरिएका छन् भने ५ सय ६२ मुद्दा बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
