बलात्कारपछि बालिकाको हत्या गर्नेलाई आजीवन कैद फैसला

असार ३२, २०८२

दीपेन्द्र बडुवाल

Sentenced to life imprisonment for killing the girl after rape

भैरहवा — आठ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा रुपन्देहीको मर्चवारी–१, खुरखुरियाका अहमद अली दर्जीलाई जिल्ला अदालतले आजीवन कैद फैसला सुनाएको छ ।

तीन दिनअघि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) को कसुरमा यसैको दफा २१९ (३ क) बमोजिम जन्मकैद र दफा २१९ (३क) को खण्ड (क) बमोजिम ७ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।

त्यसैगरि दफा १७७  (१) को कसुरमा दफा १७७ (२) बमोजिम अन्य कैदको सजाय हुने तथा प्रतिवादीले ८ वर्ष ३ महिनाकी बालिकालाई जबरजस्ती करणी हत्या गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (च) को कसुरमा दफा ४१ बमोजिम दर्जीलाई जीवित रहेसम्म कैद हुने फैसला सुनाइएको हो । अदालतबाट भएको फैसलामा पीडित परिवारलाई अपराध पीडित संरक्षण कोषबाट ७ लाख रुपैयाँ, प्रतिवादीबाट थप एक लाख ५० हजार क्षतिपूर्ति भराउन उल्लेख गरिएको छ । 

सूचना अधिकारी अर्यालका अनुसार २०८० पुस १३ गते प्रतिवादी दर्जीले बालिकालाई जबरजर्स्ती करणीपछि हत्या गरेर स्थानीय नालीमा फ्याँकेका थिए । 

घटनाक्रम अनुसार विद्यालयबाट फर्किरहेकी बालिकालाई दर्जीले बाटोमा एक्लै भेटेपछि बालिकाका बुबाले खेतमा पानी लगाउँदै गरेकाले त्यहीँ पुर्‍याइदिन्छु भनेर फकाएका थिए । फकाई फुल्याई गरेपछि दर्जीले बालिकालाई उनका बुबा भएको ठाउँमा नलगेर एकान्तमा पुर्‍याएका थिए । बालिकालाई त्यहीँ छाडेर प्रतिवादी दर्जीले मदिरा सेवन गर्न गएका थिए । मदिरा सेवन गरेर फर्किएका दर्जीले बालिकालाई करणी गरे पश्चात हत्या गरेर फालेको मुद्दाको अभिलेखमा उल्लेख छ । 

मुद्दाको विवरण अनुसार दर्जीले बालिकालाई साइकलमा चढाएर लगेको स्थानीयले देखेको बताएका छन् । बालिका लगेको देख्ने व्यक्तिले केरकार गरेपछि पनि दर्जीले केही खुलाएका थिएनन् । घटना जानकारी भएर प्रहरी पुगेपछि भने दर्जीले नै बालिकाको हत्या गरेर फ्याँकेको ठाउँ देखाएका थिए ।

दीपेन्द्र

Link copied successfully