चौरी लेकमा आन्तरिक पर्यटक बढ्दै

श्रावण १, २०८२

महेश केसी

Domestic tourists are increasing in Chauri Lake

रुकुम पूर्व — रुकुम पूर्व र बागलुङ जिल्लाको सीमास्थल चौरी लेकमा घुम्न पुग्ने पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ । समुद्री सतहदेखि करिब ४ हजार मिटरसम्मको उचाइमा अवस्थित यो लेकको मनोरम प्रकृति र सुन्दर बुकीफूलसँग रमाउन आन्तरिक पर्यटक यहाँसम्म पुग्ने गरेका हुन् ।

मध्यपहाडी लोकमार्गबाट उत्तरतर्फ रहेको यो लेकसम्म जाने गोरेटो बाटो पनि सहज भएपछि यस वर्ष घुम्नेहरू बढेको रुकुम पूर्वका फोटो पत्रकार तथा पर्यटनकर्मी दिलचन बुढाले बताए । 

‘गत वर्ष पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा यहाँ गोरेटो बाटो निर्माण भएपछि आवागमनमा सहज भयो । यसकारण पनि यस वर्ष धेरै जना घुम्न आएका छन्,’ उनले भने, ‘रुकुम पूर्वसँगै धेरै टाढा–टाढाबाट पनि पर्यटक यहाँसम्म आएको पाइयो । पहिला–पहिला गोठाला र घुम्न आएका २–४ जना देखिन्थे भने यस वर्ष बिदाको दिन त लर्को नै लाग्छ ।’ 

मध्यपहाडी लोकमार्गबाट करिब ३ घण्टा पैदल यात्रा गरेपछि चौरी लेकसम्म पुग्न सकिन्छ । यहाँ घुम्नका लागि जुनसुकै मौसममा पनि उपयुक्त हुने र मौसमअनुसारको सुन्दरता रहने गरेको छ । तर बर्खायाममा गोठालाको चहलपहलसँगै भेडाबाख्राको चरिचरनले यहाँको सुन्दरतालाई जीवन्त बनाउने स्थानीय भेडी गोठाला हरि सुनारले सुनाए । 

साथै यो मौसममा खासगरी असार मध्यदेखि साउन पहिलो सातासम्म अनेकानेक बुकीफूल फुल्ने हुँदा अरू बेलाभन्दा यो याममा धेरै मान्छे आउने गरेको सुनारको भनाइ छ । उनले भने, ‘यहाँबाट उत्तर–पूर्वतिर रुकुम पूर्व, बागलुङ र म्याग्दीतर्फका अनेकन् हिमाल देख्न सकिन्छ । यी हिमालसँगै प्रत्यक्ष हिउँको मज्जा लिन हिउँद याममा पनि यहाँ आउन सकिन्छ ।’ 

मध्यपहाडी लोकमार्गमा सवारी छोडेर छोटो–मिठो ट्रेकिङमा रमाउँदै प्राकृतिक सुन्दरतामा झुम्न चौरी लेक सबैभन्दा उपयुक्त गन्तव्य भएको यहाँ घुम्न पुगेका जाजरकोटका सरोज ओलीले बताए । ‘म यहाँ हिउँ पर्ने बेला पनि आएको थिएँ अनि यो याम (बर्खा)मा पनि आएँ । गज्जब लाग्यो । फूलको सुन्दरता र सुगन्धमा झुमेर प्रकृतिमा रम्न पाउने स्वर्गको एक टुक्राझैं लाग्यो चौरी लेक,’ उनले भने । 

रुकुम पूर्व र बागलुङको सिमानामा अवस्थित चौरी लेक पुगेर हिमालसँगै अग्ला पहाड र सुन्दर लेकाली पाटन एवं ढोरपाटन सिकार आरक्षको दृश्यावलोकन गर्न पनि सकिन्छ ।

चलनचल्तीमा यो ठाउँलाई चौरी लेक अथवा चौंरी बुकी भनिने गरिए पनि यस ठाउँको खास नाम 'चुङुरी बुकी' भएको भूमे गाउँपालिका -१, लुगुमका वीरप्रसाद घर्ती मगरको भनाइ छ ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully