कपिलवस्तु — कृष्णनगर नगरपालिकाले नगर क्षेत्रलाई फुसको छानामुक्त बनाउन ४ सय ४ जना विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रजतप्रताप शाहले १२ वटा वडाकै बासिन्दालाई बुधबार जस्तापाता हस्तान्तरण गरेका हुन् ।
प्रतिव्यक्ति १३ वटा जस्तापाता, आठवटा फलामे एंगल पाइप, त्यसलाई जोड्न काँटी र नटबोल्ड प्रदान गरिएको छ । एक जनालाई ७० हजार रकम बराबरको सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरमा एक हजार जना फुसको छानोका घरमा बसिरहेकामा गत वर्ष र यस वर्ष गरी ६ सय २० जनालाई जस्तापाता प्रदान गरिएको छ । फुसको छानामुक्त अभियान कार्यक्रमका फोकल पर्सन इन्जिनियर विनयकुमार गुप्ताका अनुसार बाँकी ३ सय ८० जनालाई आगामी आवमा जस्तापाता प्रदान गरी नगरलाई फुसको छानामुक्त तुल्याइनेछ ।
