नक्कली नोट र लागुऔषधसहित मिडिया सञ्चालक पक्राउ
नेपालगन्ज — बाँकेको इलाका प्रहरीले भारतबाट सुनका गहना र नगद चोरी गरी आएका ६ जनाको समूहलाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं.११ स्थित रहेको होटल न्यू कालिकोटेमा कोठा भाडा लिई बसेका उनीहरुलाई भारतबाट सुनका १५ तोला २५ (लाल पथ्यर सहित) तौल भएका सुनका गरगहनाहरु, नगद नेपाली सात लाख सतासी हजार सहित सोमबार दिउँसो २ बजे पक्राउ गरीएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार चोरीमा संलग्न आरोपमा जिल्ला कालिकोट रासकोट नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षीय मनबहादुर शाही, कालिकोट रासकोट नगरपालिका वडा नं. १ का ४२ वर्षीय तेजबहादुर शाही, कालिकोटकै सान्नी त्रिवेणी गाउँपालिका वडा नं.८ बस्ने १८ वर्षीय पंकज के.सी., कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. ९ बस्ने २८ वर्षीया सरिता शाही, सान्नी त्रीवेणी गाउँपालिका वडा नं. ८ बस्ने ४५ वर्षीय प्रेम बहादुर खत्री र ३८ वर्षीया अनिता खत्री रहेका छन् ।
कोहलपुर नगरपालिका वडा नं.११ स्थित रहेको होटल न्यू कालिकोटेमा कोठा भाडा लिई बसेका उनीहरुलाई मानिसहरूले भारतबाट सुनका गहना र नगद चोरी गरेर आई बसेको भन्ने सूचना अनुसार ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा ७ जनाको प्रहरी टोलीले उक्त स्थानमा हेर्दा उनीहरुको साथबाट सुनका गरगहना र नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
यसैबीच बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ पक्राउ छन् । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रालिका अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् । ईलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई यो कम्पनी अन्तर्गत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो ।
कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार, देउवाको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको छ । कार्यालयबाट प्रहरी रंगिन प्रिन्टर, मोनिटर, सिपीयूलगायत समेत बरामद गरेको छ ।
