तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटकीय पूर्वाधार बनाउन अनुमति पाएको छ । पालिकाको वडा नम्बर १ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण गरिएको बहुउद्देश्यीय भ्यू टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन नगरपालिकालाई पर्यटन मन्त्रालयले सहमति दिएको हो ।
मन्त्रालयको सहमतिपछि नगरपालिकालाई आफ्नै लगानीमा टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ । पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग लागत साझेदारी गरेको थियो ।
तर, साझेदारी अनुसार मन्त्रालयले बजेट उपलब्ध नगराएपछि टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणले पूर्णता पाउन सकेको थिएन । लागत साझेदारी भैसकेको क्षेत्रमा नगरपालिका एक्लैले पूर्वाधार निर्माण भुक्तानी गर्दा कानुनी अड्चन आउन सक्ने भएकोले नगरपालिकाले पर्यटन मन्त्रालयको सहमति खोजेको थियो ।
पर्यटन मन्त्रालयले यही असार २९ गते सचिवस्तरीय निर्णय गर्दै तिलोत्तमा नगरपालिकालाई सहमति दिएसँगै अब पर्यटकीय पूर्वाधार निर्माणका लागि कानुनी अड्चन फुकेको नगर प्रमुख रामकृष्ण खाणले बताए । उक्त परिसरमा पर्यटन पूर्वाधार बनाउन पालिकाले चालू आर्थिक वर्षमा एक करोड खर्च गरेको छ भने आगामी आर्थिक वर्षको लागि थप एक करोड विनियोजन गरि नीति तथा कार्यक्रम र बजेटबाट पास गरेको खांणले बताए ।
नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको बहुउद्देशीय भ्यू–टावर सञ्चालनको अनुमतिले यस क्षेत्रमा आन्तरिक तथा बाह्यपर्यटक भित्र्याइ रोजगारीको श्रृजनासँगै नगरपालिकालाई आर्थिक रुपमा समेत टेवा पुग्ने विश्वास रहेको उनको भनाइ छ ।
बाँकी संरचना आगामी आर्थिक वर्षमा निर्माण गरेर बहुउद्देश्यीय टावर सञ्चालनमा ल्याउने नगरपालिकालाई अब सहज भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ पालिकाको आफ्नै लागतमा यो कार्य सम्पन्न गर्न तत्पर रहेको अर्यालले बताए ।
