कांग्रेस-एमालेकै जिल्ला अध्यक्षको वडाको टोल विकास संस्थामा एमाले-कांग्रेस गठबन्धन पराजित
बुटवल — तिलोत्तमा नगरपालिका–८ मिलन टोल विकास संस्थाको निर्वाचनमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको टिम बहुमत सिटमा विजयी भएको छ । तिलोत्तमा–८ एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे र कांग्रेस जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको वडा हो ।
कांग्रेसका नेता एवं पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणको वडा पनि यही नै हो । शनिबार भएको भेलाले १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन गराएको थियो । १५ सदस्यमध्ये ४ पदाधिकारीसहित ८ सिटमा रास्वपा विजयी भएको छ । एमालेका ३ जना, कांग्रेसका २ जना र रास्वपाकै प्यानलबाट राप्रपाका दुई जना विजयी भएका छन् ।
२ सय ७२ घरधुरी रहेको टोलमा २ सय ३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १ सय २४ मत ल्याएर निर्वाचित भएका थिए । प्रतिस्पर्धी एमालेका एमालेका कृष्ण चापागाईंले १ सय मत मात्र प्राप्त गरे । उपाध्यक्षमा रास्वपाका पर्सुराम काफ्लेले १ सय ४५ मत प्राप्त गर्दा कांग्रेसकी रिना बरालले ८१ मत प्राप्त गरेकी छन् ।
त्यस्तै सचिवमा रास्वपाकै सीता तिवारी १ सय १९ मत र कांग्रेसका थम्मन गुरुङले १ सय ५ मत ल्याए थिए । कोषाध्यक्षमा रास्वपाका प्रतीक पाण्डेले १ सय २६ मत ल्याएर विजयी बन्दा एमालेकी बबी चापागाईंले ९८ मत ल्याएकी थिइन् ।
