काठमाडौँ — गुल्मीमा कालीगण्डकी करिडोरको दुई ठाउँमा सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका-१ गरगरे र वडा नम्बर ६ बर्लवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
दुवै ठाउँमा माथिबाट चट्टानसहितको ठूलो पहिरो खस्दा आइतबार बिहानैदेखि सडक अवरुद्ध छ । यी ठाउँमा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । जसका कारण कालीगण्डकी करिडाेर हुँदै हिँड्ने यात्रुले सास्ती खेप्नुपरेको छ । स्थानीय यात्रु पनि मारमा परेका छन् ।
पहिरोग्रस्त क्षेत्रमा पुर्तिघाट प्रहरी चाैकीबाट टाेली खटिएको छ । सडक खुलाउन स्थानीय पालिका र निर्माण व्यवसायीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोरकाे यस क्षेत्रमा पानी पर्दा लेदाेसहितकाे पहिरो र पानी नपरेपनि ठुला चट्टानसहितको सुक्खा पहिरो खस्दा पटकपटक अवरुद्ध हुने गरेकाे छ ।
