गुणस्तरहीन काम भएपछि वालसहितको नाली पालिकाले भत्कायो

असार २८, २०८२

सन्तोष महतारा

The drain with walls was demolished by the municipality due to poor quality work

गुल्मी — गुणस्तरहीन काम भएको पाइएपछि सत्यवती गाउँपालिकाको खैरेनी–जोहाङ्ग–जुनियाँ–भार्से सडकखण्डमा वालसहितको नाली भत्काइएको छ । भुक्तानीलक्षित धमाधम गुणस्तरहीन काम भएपछि पालिकाले एक्स्काभेटर लगाएर भत्काएको हो ।

सडकखण्डको सुरुवाती खण्डमा ढलान ३ सय घनमिटर र वालसहितको नाली निर्माण ६३ दशमलव ७९ घनमिटर रहेको थियो । उक्त योजनाको नालीसहितको वाल निर्माण गुणस्तरहीन भेटिएको पालिकाले जनाएको छ ।

गत वैशाख अन्तिम साता असार २५ गते सक्ने गरी स्थानीय पूर्वाधार विकास कार्यालय लुम्बिनी प्रदेश बुटवल र निर्माण कम्पनी सानब्रो कन्स्ट्रक्सन प्रालिबीच एक करोडको योजना जम्मा ७४ लाख रुपैयाँमा सम्झौता भएको कार्यालयको तर्फबाट इन्जिनियर रमेश भण्डारीले बताए । 

कार्यालयमा इन्जिनियर भण्डारीले सम्झौताअनुसारको काम भइरहेको बताए । ‘काम सम्झौताअनुसार नै भइरहेको थियो,’ उनले भने, ‘पालिकाको राम्रै प्रतिक्रिया थियो, अन्तिममा के भयो बुझिएन ।’ उनले यस वालसहितको नाली निर्माणमा ६० प्रतिशत कंक्रिट र ४० प्रतिशत ढुंगा हुनुपर्ने मापदण्ड रहेकामा निर्माण कम्पनीले कंक्रिट नै बढी प्रयोग गर्नु थप राम्रो भएको प्रतिक्रिया दिए । कार्यालयबाट यस योजनाको हालसम्म कुनै रकम भुक्तानी भएको छैन ।  

तर निर्माण कम्पनी सानब्रो कन्स्ट्रक्सनका सञ्चालक सुकमित सनमानेले निर्माणको क्रममा केही कमीकमजोरी भएको स्वीकार गरे । ‘काम गर्दै जाँदा फिनिसिङमा केही समस्या देखियो,’ उनले भने, ‘हामी पुनः काम गर्दै छौँ ।’ पालिकाको सल्लाह र सुझावमा भत्काएर पुनः काम थालिएको उनले बताए । उनले अब तीन दिनमा काम सक्ने र भुक्तानीका लागि पेस गर्ने उनको भनाइ छ ।

सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले पालिकाअन्तर्गत सडकमा गुणस्तरहीन काम भएकाले भत्काउने काम भएको बताए । ‘अन्तिम समयमा आएर भुक्तानीका लागि गुणस्तरहीन काम भएको छ,’ उनले भने, ‘जुन सरकारमार्फत भए पनि काम गुणस्तरीय हुनुपर्छ ।’ गुणस्तरीय काम गर्न नसक्ने निर्माण व्यवसायीलाई कामको जिम्मा नलिन उनले चुनौती दिए ।

उनले स्थानीय पूर्वाधार तथा विकास कार्यालय बुटवलको योजना भए पनि आफ्नो पालिकाभित्र भएपछि निगरानी हुने बताउँदै पुनः गुणस्तरीय काम गर्न लगाइएको बताए ।

सन्तोष

Link copied successfully