वर्षाबासका लागि भिक्षुहरू बौद्ध स्थलमा

असार २९, २०८२

मनोज पौडेल

Monks at a Buddhist site for rain

लुम्बिनी — बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व तीनमहिने वर्षावास सुरु भएको छ । थाइल्यान्डलगायत विभिन्न देशबाट भिक्षुहरू बौद्ध स्थलहरूमा वर्षावास बस्न आएका छन् ।

बुद्धकालीन समयदेखि नै चलिआएको यो परम्परामा भिक्षुहरू कतै नगई एकै स्थान वा विहार टेम्पलमा ध्यान साधना र देशना गरी बस्ने परम्परालाई वर्षावासका नामले चिनिन्छ । 

लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, निग्राोधाराम र पश्चिम नवलपरासीको रामग्राममा नेपाली, थाई, म्यानमार र श्रीलंकाका गरी ४३ जना भिक्षु विभिन्न विहारमा वर्षावास बसेका छन् ।

भिक्षु महासंघका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले मंगलपाठ गरेर पूजाआजा गरी लुम्बिनीस्थित नव मैत्री महाविहारमा दुई शिष्य कोलीय विशुद्धि र महानामसहित वर्षावास बसेका छन् । बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटि कमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने गर्छन् । 

वर्षाबासका बेला साँझ–विहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गरिन्छ । त्यस बेला बुद्ध धर्मसँग गुन तथा धर्म देशना गर्दै पूजाआजा गरिन्छ । विहान एक छाक खाना खाने गर्दछन् । सकेसम्म स्थानीय बासिन्दासँग भिक्षा मागेर खाने गर्दछन् । साँझ झोलिलो कुरा मात्र खाने गर्छन् ।Monks at a Buddhist site for rainतीन महिने वर्षाबासका बेला लुम्बिनीस्थित रोयल थाई विहारमा साझ द्वीप प्रज्ज्वलन गरिँदै । 

‘वर्षावास विशेष परिस्थितिमा बनेको नियम हो,’ लुम्बिनीस्थित नेपाल मन्दिरका प्रमुख भिक्षु सागर धम्मले भने, ‘त्यसकारण यसलाई विशेष मानिन्छ ।’ भगवान् बुद्धका धेरै चेला र अनुयायीहरू हुँदा १२ मास हिँड्दा वर्षाका बेला बाटो, खेतबारीमा निस्कने किरा फट्यांग्रा मर्ने, बालीनालीलाई क्षति पुगेको कुरा बाहिर आएपछि तीन महिने वर्षावासको नियम बनाइएको भिक्षु सागर धम्मले बताए । वर्षावास बसेका भिक्षुले स्थानीयलाई ज्ञान बाँड्ने, ध्यान भावना सिकाउने र दानपुण्यको महत्त्व बताउने हुँदा वर्षावास समुदायसँग पनि जोडिएको उनले बताए । यसले व्यक्ति र समाज अनुशासित, शील र सदाचारमा राम्रो परिवर्तन भई सद्भाव र करुणाले प्रेरित हुने उनले बताए ।

अहिले लुम्बिनीस्थित थाई विहारमा ९, शाक्यमुनि विहारमा ६, नवमैत्रीमा ३, आईबीएसमा २, मैत्री विहारमा २, नेपाल मन्दिरमा २, महाबोधीमा २, म्यान्मार टेम्पलमा २ र श्रीलंका महविहारमा एक जना भिक्षु वर्षावास बसेका छन् । त्यस्तै कपिलवस्तुको निग्रोधाराममा ५, तिलौराकोटमा ४ र पश्चिम नवलपरासीको रामग्राममा ५ जना थाई भिक्षु वर्षावास बसेका छन् । चार ठाउँमा २६ जना थाई भिक्षु वर्षावास बसेकामा २१ जना वर्षावास बस्नकै लागि थाइल्यान्डबाट यहाँ आएका हुन् । त्यस्तै २ जना म्यानमार र ३ जना श्रीलंकाली भिक्षु पनि लुम्बिनीमा वर्षावास बसेका छन् । 

वर्षाका बेला ३ महिना चराहरू पनि आफ्नै गुँडमा बस्छन् । वर्षामा हिँड्न पनि गाह्रो हुन्छ । वर्षामा कमिला, किरा फट्याङग्रा बढी निस्कने हुँदा हिँड्दा प्राणी हत्याको भागीदार भइने हुँदा नहिँड्दा नै राम्रो भन्ने सुझाव धेरैतिरबाट आएकाले गौतम बुद्ध वर्षावास बस्न थालेको भिक्षु भिक्षुणी बताउँछन् ।Monks at a Buddhist site for rain तीन महिने वर्षाबास बसेका भिक्षुलाई लुम्बिनीस्थित नवमैत्री विहारमा खाद्यान्न सहयोग गर्दै उपासका उपासिका ।

अहिले वर्षावास बस्न भिक्षु भिक्षुणीलाई आफ्ना उपासक उपासिकाले निम्तो गर्छन् । उनीहरूको निम्तो स्विकार गर्दै भिक्षुहरूले वर्षावास थालेका हुन् । ३ महिनासम्मको चर्तुप्रत्य उपासक उपासिकले नै भिक्षुलाई दिन्छन् । चर्तुप्रत्य भन्नाले वर्षावासका बेला चाहिने चीवर (पहेँलो बस्त्र), खाने कुरा, ओढने ओछयाउने बस्त्र र औषधिमूलोको सबै खर्च उपासक उपासिकले बेहोर्छन् । 

‘लुम्बिनीमा वर्षावास बस्न आउनका लागि थाई भिक्षु मरिहत्ते गर्छन्,’ लुम्बिनीस्थित थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा बोधी विदेशविदेश्वर सुधीले भने, ‘किनभने लुम्बिनीमा जीवनकै महत्त्वपूर्ण पुण्य संचय गर्ने अवसर पाउँछन् । त्यही भएर यहाँ वर्षावास बस्न उनीहरू जस्तोसुकै काम छोडेर पनि आउन हतारिन्छन् ।’ 

वर्षावास बस्ने भिक्षुले पुण्य संचय गर्ने जनविश्वास छ । वर्षावास सकिएको एक महिनाभित्र कठिन चिवर दान गरिन्छ । त्यसलाई कठिनोत्सव भनिन्छ । अनुशासित र नियममा बसेर वर्षावास बस्ने गर्ने भिक्षुलाई भिक्षु संघले दिएको पहेँलो बस्त्र (चिवर) प्रदान गरिन्छ । त्यसपछि वर्षावास पूरा हुन्छ । बुद्ध धर्मका थेरबादी सम्प्रदायमात्र वर्षावास बस्छन् ।

‘बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षावास बस्न पाउँदा जीवनकै उत्कृष्ट क्षण बनेको महसुस गरेको छु,’ थाइल्याण्डको उदोनथानीबाट आएका भिक्षु फ्रा सन्त चित्तोले भने, ‘यहाँ राम्रो ध्यानलाभ गर्दैछु ।’ जीवनलाई अझ सकारात्मक बनाउँदै महत्त्वपूर्ण पुण्य संचय गर्ने अवसर पाएको म्यानमार भिक्षु स्याडोले बताए । ‘यहाँबाट सद्भाव, करुणा र भातृत्व संचय गरी म्यनमारमा लगेर बाँड्छु,’ उनले भने । Monks at a Buddhist site for rainतीन महिने वर्षाबास बसेका भिक्षु लुम्बिनीस्थित नवमैत्री विहारमा त्रिपिटक पाठ गर्न जाँदै । तस्बिरहरू : मनोज पौडेल/कान्तिपुर

असार पूर्णिमादेखि असोज पूर्णिमासम्म ३ महिना वर्षावास हुन्छ । असार पूर्णिमा बौद्ध धर्ममा निकै महत्त्वपूर्ण दिनका रूपमा रहेको छ । उक्त दिन राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको र उक्त दिनै २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञान प्राप्तिका लागि निस्केका थिए । उक्त दिनबाट राजदरवार आसपास धान रोप्ने मंगलोत्सव गरिन्थ्यो । असार पूर्णिमामै पहिलो धर्मक्रम देशना सारनाथमा बुद्धले गरेका थिए भने राजकुमार सिद्धार्थका पुत्र राहुलको जन्म पनि त्यही दिन भएको मानिन्छ ।

मनोज पौडेल

Link copied successfully