बर्दियाको पूर्वी क्षेत्रमा पानी नपर्दा पम्पबाट सिँचाइ

असार २८, २०८२

कमल पन्थी

Irrigation from pumps in the eastern region of Bardia in the absence of rain

बर्दिया — चर्को घामले दिउँसो बाहिर निस्कनै नसक्ने अवस्था छ । असार महिना बित्नै लाग्दा बर्दियाको पूर्वी क्षेत्रमा किसानका अधिकांश खेत पानी नपर्दा बाँझै छन्, धान रोपाइँ हुनै सकेको छैन ।

गुलरिया नगरपालिका–११ का किसान अनिल गोडियाले आकाशे पानीको भरमा रहेका यहाँका किसानका खेतमा पम्पबाट सिँचाइ गरेको बताए । 'जमिन पनि सुक्न लागेकोले पानी धेरै आउँदैन,' उनले भने, 'महँगो तेल खर्चेर सिँचाइ गर्दा खर्च नउठ्ने भयो ।'

पानी नपर्दा धेरैजसो किसानको खेत बाँझो छ । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बढैयाताल गाउँपालिका लगायत पालिका आकाशे पानीको भरमा छ । 

गुलरिया–११ का किसान सम्शुर अलि गद्दीले पानीको समस्या उस्तै छ, धेरै पानी परे डुबान हुने गरेको बताउँछन् । 'आकाशको भरमा खेती हुने गरेको छ,' उनले भने, 'खहरे खोला भएका कारण बबईमा पर्याप्त पानी हुँदैन, यसै कारण किसान पम्पिङ सेटबाट खेतमा सिँचाइ गर्छन् ।' पम्पिङ बोरिङ महँगो भएकोले कतिपय किसान आकाशे पानीको सहारामा बसेका छन् ।

बर्दियामा गत वर्ष यसै समय करिब ९० प्रतिशत रोपाइँ सकेको थियो । यसपालि खडेरीले गर्दा  बर्दियामा ५५ प्रतिशत मात्र रोपाइँ भएको एकीकृत कृषि तथा पशुपंक्षी कार्यालयका प्रमुख सागर ढकालले बताए ।

बबई नदीमा जलस्तर निकै कम छ । खहरे खोला भएका कारण बबई नदी आकाशे पानीमा निर्भर छ । बबई सिँचाइ आयोजनाका प्रमुख सुशील देवकोटाले शनिबार प्रति सेकेण्ड २७ क्युमेक्स पानी बगिरहेको बताए । 'पर्याप्त सिँचाइका लागि कम्तीमा ५० क्युसेक पानीको आवश्यकता हुन्छ,' उनले भने, 'बारै महिना पर्याप्त सिचाइका लागि भेरी बबई डाइभर्सनका आवश्यकता छ ।'

भेरी बबई डाईभर्सनबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफलमा १२ महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको छ । भेरीको पानी बबईमा फर्काएर खसाल्ने काम आर्थिक वर्ष ०८४/०८५ सालमा सम्पन्न हुने आयोजनाले जनाएको छ । ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुने बर्दिया भरी ५५ प्रतिशत धान रोपाई भएको छ । असार मसान्तसम्म पर्याप्त पानी परे उत्पादन नघट्ने कृषिका कर्मचारीको भनाई छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully