बुटवल — शिक्षकलाई शिक्षण सिकाइका विधि सिकाउन शनिबार बुटवलमा शैक्षिक सम्मेलन सम्पन्न भएको छ । विद्यालय तहको शिक्षालाई रुचिकर, व्यावहारिक र परिणाममुखी कसरी बनाउने भन्ने प्रश्न उठिरहेका बेला रूपन्देहीका संस्थागत विद्यालयले शैक्षिक सम्मेलनको आयोजना गरेका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रूपन्देहीले आयोजना गरेको शैक्षिक सम्मेलनमा २ सय ८१ शिक्षकलाई काठमाडौं विश्वविद्यालयका प्राध्यापकले सहजीकरण गरेका थिए । प्याब्सन रूपन्देहीका अध्यक्ष दीपक खनालले बालबालिका केन्द्रित शिक्षणका लागि अहिलेको शिक्षण विधि फेर्नुपर्ने र नयाँ विधि एवं तरिका अपनाउनु पर्ने भएकाले शैक्षिक सम्मेलनको आयोजना गरिएको बताए ।
सम्मेलनमा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै एआईको प्रयोग, प्रविधिमैत्री शिक्षण विधि, सहभागितामूलक अनुसन्धान कार्य, विद्यार्थी केन्द्रित शिक्षण विधि, रूपान्तरणकारी नेतृत्व लगायतका बारेमा शिक्षकलाई छुट्टाछुट्टै शिक्षण परामर्श दिइएको थियो ।
विद्यालय शिक्षामा नयाँ आयाम जोड्न र शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन हरेक विद्यालयमा शिक्षक सहजकर्ता उत्पादन गर्ने रूपन्देहीका संस्थागत विद्यालयको योजना छ । त्यसका लागि सम्मेलनमा विद्यालयका शिक्षकसँगै प्राध्यापकसँग पनि परामर्श गरिएको अध्यक्ष खनालले जानाकारी दिए ।
विद्यालय तहको शिक्षा राम्रो भएमात्र विद्यार्थीले उच्च शिक्षामा राम्रो नतिजा निकाल्न सक्छन् । यही मान्यताअनुसार शैक्षिक सम्मेलन शिक्षालाई समयानुकूल, प्रविधिमैत्री बनाउन संस्थागत विद्यालयले आयोजना गरेको शैक्षिक सम्मेलन सहयोगी बन्ने प्याब्सन रूपन्देहीका सचिव बोधराज गौडेलले बताए ।
शैक्षिक सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयले ठूलो योगदान गरेको बताए । बन्दै गरेको शिक्षा ऐनमा संस्थागत विद्यालयले गरेको योगदानको कदर गर्ने गरी छलफल भइरहेको पनि उनले जानकारी दिए ।
