चालु र पुँजीगत गरी वित्तीय प्रगति ८७ प्रतिशत
पाल्पा — पाल्पाको रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा ३ सय ८९ योजना सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ४ सय ३ वटा योजना समावेश गरेकामा १४ वटा योजना सम्पन्न हुन सकेनन्, जसमा ९ वटा योजनाको सम्झौता नै भएन । ५ वटा योजना सम्झौता भएर पनि काम नभएको रामपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए ।
ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरु भई तोकिएकै मितिमा सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । उनका अनुसार यस वर्ष वित्तीय प्रगति पनि ८७ प्रतिशत भएको छ ।
रामपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ८१ प्रतिशत वित्तीय प्रगति गरेको थियो । रामपुरले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६.३१ प्रतिशत बढी वित्तीय प्रगति गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार गत आर्थिक वर्षमा ८१ प्रतिशत वित्तीय प्रगति हासिल भएको हो ।
नगरपालिकाभित्र सञ्चालन हुने योजनाको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगरप्रमुख थापाले बताए ।
पटकपटकको अनुगमनले सञ्चालन भएका कार्यक्रम तथा योजना प्रभावकारी र गुणस्तरीय रहेको नगर उपप्रमुख बालकुमारी थापाले बताइन् । ‘नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविरमार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेकाले पनि वित्तीय प्रगति बढेको हो,’ उपप्रमुख थापाले भनिन्, ‘वडावडामै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको हो ।’
योजना कार्यान्वयनका लागि सहजीकरण गरेका कारण पनि ठेक्कामार्फत भएका योजना सहज रुपमा समयमै सम्पन्न भएको दाबी नगरपालिकाको छ । नगरपालिकाले शिक्षा विकास, स्वास्थ्य सेवा, कृषि तथा पशु विकास, भौतिक पूर्वाधार तथा सहरी विकास, वातावरण, सरसफाइ एवं हरियाली तथा विपद् व्यवस्थापनका क्षेत्रमा योजना सञ्चालन थिए । युवा तथा खेलकुद, पर्यटन, लैंगिक समानता, सहकारी तथा रोजगार प्रवर्द्धन, नियमित मर्मत सम्हारका कार्यक्रम हुने गरेको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले कुल ७४ करोड ११ लाख ४ हजार बजेट विनियोजन गरेको थियो । जस अन्तर्गत ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैया खर्च भएको नगरप्रमुख थापाले बताए । पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएकामा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ यो खर्च रकम ७९.०१ प्रतिशत हो । चालुतर्फ नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६.४८ रुपैयाँ खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा रामपुर नगरपालिकाको वित्तीय प्रगति ९०.२२ प्रतिशत हो ।
आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा सामाजिक सुरक्षा भत्ता र सडक बोर्डमार्फत आउने बजेट यसमा समावेश गरिएको छैन । नगरपालिकाले संघीय समानीकरण अनुदान १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँटबाट १० करोड ६३ लाख ९८ हजार, संघीय समपूरक पुँजीगत ९१ लख, संघीय विशेष अनुदान ७५ लाखको बजेट रहेको छ ।
संघीय ससर्त चालुतर्फ ३५ करोड ११ लाख, संघीय ससर्त चालुतर्फ २ करोड ८ लाख, प्रदेश समानीकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड २९ लाख ३७ हजार बजेट रहेको छ । प्रदेश समपूरक १ करोड २० लाख, प्रदेश ससर्त चालुतर्फ १५ लाख ८ हजार र पुँजीगततर्फ ३ करोड र आन्तरिक स्रोत अल्यासहित १४ करोड जुटाउनेछ । खर्चतर्फ चालु बजेट ६० करोड ५० लाख ५८ हजार र पुँजीगत खर्च २१ करोड ६८ लाख ८ हजार विनियोजन गरेको छ ।
नगरपालिकाले १० वटै वडालाई समान रूपमा ६०–६० लाख विनियोजन गरेको छ । रामपुर नगरभित्रका कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
