लुम्बिनी — ऐतिहासिक र महत्त्वपूर्ण स्थल शाक्यवंशी राजा शुद्धोधनको राजधानी तथा प्राचीन कपिलवस्तु दरबार तिलौराकोट सहर (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा पर्ने सम्भावना कम हुँदै गएको छ। लामो समयदेखि काम गरेर मनोनयन दस्ताबेज बुझाइए पनि यस वर्षका लागि भने सूचीबद्ध हुने सम्भावना गाह्रो बनेको हो।
फ्रान्सको पेरिसमा भइरहेको युनेस्कोको ४७औँ सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा १३ गते शुक्रबार साँझ छलफल हुने कार्यसूची छ । तर, छलफल हुनुअघि नै युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमोस (स्मारक तथा स्थलहरूको अन्तर्राष्ट्रिय परिषद्) ले डिफर (स्थगन) मा राख्ने सिफारिस गरेकाले समस्या भएको स्रोतले जनाएको छ ।
इकोमोसले छलफलका लागि ‘रिफर’ र ‘डिफर’ गर्ने एक पुरातत्वविद्ले भने, 'रिफर’ गर्नु भनेको छलफल अघि बढाउनु हो, ‘डिफर’ भनेको अहिलेलाई स्थगन गर्नु हो ।' युनेस्कोले सबै निर्णय इकोमसकै सिफारिसमा गर्ने भएकाले इकोमसलाई बाइपास गरेर युनेस्कोले छिट्टै निर्णय लिने सम्भावना अत्यन्त न्यून हुन्छ।
शाक्यवंशी राजधानी तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सम्पदा सूचीमा सूचीकृत गराउने र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरा सूचीमा नराख्ने विषयमा छलफल गर्न संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा एक टोली सोमबार फ्रान्स गएको छ । मन्त्रीसँगै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामा, कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई, संस्कृति मन्त्रालयका सहसचिव र पुरातत्व विभागका अधिकारी सहभागी छन् । टोलीले पेरिसमा द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र छलफल गरेर तिलौराकोटको पक्षमा लबिङ गरिरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
तिलौराकोटलाई विश्व सम्पदा स्थल बनाउनका लागि करिब १,००० पृष्ठ लामो अन्तिम मनोनयन दस्ताबेज सन् २०२४ जनवरी ३१ मा नेपालका तर्फबाट युनेस्कोमा स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि राजदूत डा. सुधीर भट्टराईले पेरिसस्थित युनेस्कोको विश्व सम्पदा केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुझाएका थिए ।
त्यसैका आधारमा युनेस्कोले गत असोजमा तिलौराकोटको स्थलगत अनुगमन गर्न इकोमसको उच्चस्तरीय टोली पठाएको थियो । मिसनले अनुगमन गरी मूल्यांकन प्रतिवेदन दिएको छ । त्यसकै आधारमा युनेस्कोले निर्णय गर्ने हो । तर, इकोमसको सिफारिस सकारात्मक नहुँदा अन्योल थपिएको हो ।
यस पटक विश्वभरबाट प्रस्तावित ३२ वटा साइटमध्ये २४ वटा सांस्कृतिक, ७ वटा प्राकृतिक र १ वटा मिश्रित साइटको मनोनयनबारे छलफल हुने कार्यसूची छ ।
यस पटकको समस्याको कारण भारतले कतै रिजर्भेसन राखेकै हुन सक्ने अनुमान गरिएको छ । युनेस्कोमा भारत शक्तिशाली राष्ट्रको रूपमा चिनिन्छ, र उसले अप्रत्यक्ष असहमति जनाउँदा समस्या भएको बताइएको छ ।
भारतले नेपालको तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आएको छ । तर, लामा समयदेखि भइरहेको अध्ययन, अनुसन्धान, पाँचौं र सातौँ शताब्दीमा आएका चिनियाँ यात्रीहरूको विवरण र भौगोलिक अवस्थाका आधारमा तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने पुष्टि भइसकेको पुरातत्वविद् वसन्त बिडारीले बताए ।
'भारतले दाबी गरेको पिपरहवा र गनवरिया कपिलवस्तुसँग सम्बन्धित पुरातात्विक स्थल हो । भारतलाई नेपालको तिलौराकोटबारे कन्भिन्स गर्नु सक्नुपर्छ', उनले भने, 'त्यसपछि प्रक्रिया अघि बढाउँदा हुन्छ । नभए तिलौराकोटसँगै भारतको बुद्धकालीन सम्पदा पिपरहवा र गनवरियालाई पनि एकीकृत रूपमा सम्पदा सूचीमा राखौँ । ती स्थलसँगै तिलौराकोट सूचीबद्ध भयो भने यसको ओज र गरिमा कुनै कमी आउँदैन, अझ बढ्छ ।' सबैले वास्तविक र प्रमाणिक राजधानी तिलौराकोटबारे थाहा पाउने र यसले नयाँ पहिचान पाउने उनले बताए । ट्रान्स-बोर्डर विश्व सम्पदास्थल पनि विश्वमा छन् । 'संसारमा दुई देशका सीमामा रहेका यस्ता महत्वपूर्ण स्थललाई विश्व सम्पदा सूचीमा राखिएको छ । यहाँ पनि गर्न सकिन्छ,' उनले भने, 'नेदरल्याण्ड, जर्मनी र डेनमार्कले वाडेन सीलाई ट्रान्स-बोर्डर विश्व सम्पदास्थलमा दर्ता गरेका छन् । भिक्टोरिया फललाई जिम्बाब्वे र जाम्बियाले दर्ता गरेका छन् । लुम्बिनी पनि सूचीबद्ध हुन दुई पटक असफल भएको हो । तेस्रो पटकमा मात्र सूचीबद्ध हुन सक्यो । प्रयास गरियो भने अवस्था सूचीबद्ध हुन्छ ।'
युनेस्कोका १९५ मुलुक सदस्य छन् । २१ वटा राष्ट्रको मताधिकार छ । युनेस्को जापानीज फण्ड इन ट्रस्ट परियोजनाअन्तर्गत डर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा गरिएको वैज्ञानिक पुरातात्विक उत्खननपछि पर्याप्त आधार र प्रमाण जुटाइएपछि विश्व सम्पदा सूचीमा सूचीबद्ध गर्न प्रक्रिया अगाडि बढाइएको हो । ११ वर्षदेखि भइरहेको उत्खनन् तथा अन्वेषणले पुरातात्विक सामग्री र भग्नावशेष ईशा पूर्व आठौँ शताब्दीसम्मको रहेको पुष्टि भएको छ । पुरातत्वविद्हरूले तिलौराकोट दक्षिण एशियामा सबैभन्दा सुरक्षित, सग्लो र महत्वपूर्ण ऐतिहासिक सम्पदास्थल भएको बताएका छन् ।
फ्रान्समा मुख्यालय रहेको युनेस्कोमा आवेदन गरेपछि १९९६ मा एक टोलीले आएर तिलौराकोटमा सानो ट्रेन्च काटेर विवरण लगेको थियो । लगत्तै युनेस्कोले तिलौराकोटलाई प्रस्तावित वर्ल्ड हेरिटेज साइटको टेन्टेटिभ सूचीमा राखेको थियो । त्यस यतादेखि त्यो सूचीभन्दा माथि उठ्न सकेको छैन । त्यसपछि २०२३ मा आएर फेरि प्रक्रिया अगाडि बढाउँदै अहिले सरकार नै वर्ल्ड हेरिटेज स्थलमा इन्स्क्राइब गर्न कस्सिएर लागेको थियो ।
युनेस्कोले बुद्ध जन्मस्थल लुम्बिनीलाई संभावित खतराको सूचीमा राख्ने विषयमा भने राहत पाउने संभावना देखिएको छ । लुम्बिनीमा सुधार गर्नुपर्ने विषयमा दिइएका अधिकांश निर्देशन कार्यान्वयन गरिएकाले खतराको सूचीमा नराखिने कोष सदस्य सचिव शाक्यले बताए । लुम्बिनीका विषयमा स्टेट अफ कन्जरभेसन रिपोर्ट पेश भइसकेको छ । जुलाई १० र ११ मा लुम्बिनी र जुलाई ११ र १३ तिलौराकोटका विषयमा छलफल हुने कार्यसूची छ ।
