रोल्पा — रोल्पाका पुराना नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको शुक्रबार बिहान निधन भएको छ। ८७ वर्षीय घर्तीमगर लामो समयदेखि बिरामी थिए । उनको उपचारकै क्रममा राजधानीको एक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पञ्चायती प्रणालीदेखि बहुदलीय व्यवस्थासम्म झन्डै ३० वर्षसम्म तत्कालीन राप्रपाबाट निर्वाचित हुँदै पाँच कार्यकालसम्म मन्त्री बनेका घर्ती मगरको जन्म विसं १९९४ साउन १८ गते रोल्पाको साबिक मिझिङ गाविस–५ उपल्लोथर गाउँमा भएको थियो। पछिल्लो समय उनी ललितपुरस्थित आफ्नै निवासमा बसोबास गर्दै आएका थिए।
तत्कालीन राजदरबारका विश्वासपात्रका रूपमा चिनिएका घर्तीमगरले उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। पञ्चायतीकालदेखि नै लोकप्रिय नेताको छवि बनाएका उनले लामो समयसम्म सांसद तथा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।
उनले राजयोग, मूल, हिजो, आज, भोलि, मानव अधिकार : एक चिन्तन, पुर्खाको चिनो, ऐतिहासिक घटनाक्रम–भाग १ लगायतका पुस्तकहरू प्रकाशन गरेका थिए।
विसं २०१७ मा रोल्पाका तत्कालीन कांग्रेस नेता खडानन्द सुवेदीका सहयात्री बनेका उनले सुवेदीसँग मिलेर 'गाउँ फर्क राष्ट्रिय अभियान' सञ्चालन गरेका थिए। सुरुआती समयमा उनी पञ्चायती राजनीतिको रोल्पा उपसभापतिका रूपमा सक्रिय थिए।
विसं २०१८ र १९ मा प्युठान, दाङ, रुकुम र सल्यानका केही भाग मिलाएर गठन गरिएको नयाँ जिल्लाको निर्माण तथा शैक्षिक विकासमा उनी अग्रपङ्क्तिमा रहे। त्यसैले उनलाई जिल्लावासीले ‘रोल्पा विकासका पिता’ को रूपमा सम्झने गर्छन्।
इतिहास, विज्ञान, आयुर्वेद र समाजका ज्ञाता घर्तीमगर पूर्वीय दर्शनप्रति गहिरो आस्था राख्थे। इमानदारिता र सही राजनीतिक प्रतिबद्धतामा विश्वास गर्ने उनले राजनीति, विकास र अध्यात्मबारे आफ्ना पुस्तकहरूमा विचार व्यक्त गरेका छन्।
उनका भाइ भूपनारायण घर्ती पनि राजनीतिमा सक्रिय थिए र उनी हाल अमेरिकामा छन्। बालारामका पाँच छोरी छन् ।
पूर्वसांसद लेखनाथ आचार्यका अनुसार बालाराम रोल्पाका मात्र होइन, मुलुककै इमानदार र सरल नेतामा गनिन्थे। रोल्पाको विकासमा उनले निर्वाह गरेको भूमिकाका कारण उनलाई सधैँ सम्झनुपर्ने आचार्यको धारणा छ।
