सिद्धार्थले दरबार त्यागेको सम्झनामा मनाइयो महाभिनिष्क्रमण दिवस

असार २७, २०८२

मनोज पौडेल

Mahabhinishkraman Day is celebrated to commemorate Siddhartha's abandonment of the palace

कपिलवस्तु — मध्यरातमा राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि राजसी सुखसयल त्याग गरेको दिनको स्मरण गर्दै कपिलवस्तुस्थित राजप्रासाद तिलौराकोटमा बिहीबार मध्यराति महाभिनिष्क्रमण दिवस मनाइएको छ । 

आजभन्दा २ हजार ६ सय २० वर्षअघिको घटना स्मरण गर्दै राति १२ बजे यहाँ राजकुमार सिद्धार्थले राजसी सुखसुविधा सहितको राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाइएको हो । 

बुद्ध सर्किट्स डटकम नेपाल र गच्छामी मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रममा मानव जातिमा दुःखको कारण खोज्दै राजसी सुखसयल छाडेर दरबार त्यागेको घटनासँग मेल खाने गरी गरिएको कठोर निर्णय महाभिनिष्क्रमण गरेको स्मरण गरी देखाइएको थियो । बुद्धत्व प्राप्त गरेपछि राजकुमार सिद्धार्थ गौतम पछि महात्मा बुद्धका नामले प्रख्यात भएका थिए । कार्यक्रममा शक्यकुलका लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्य राजकुमार सिद्धार्थ बनेर सेतो घोडामा चढेर राजप्रासादको पूर्वी ढोकाबाट बाहिरिँदै गरेको दृश्य देखाइएको थियो । त्यस्तै शाक्यकुलका पत्रकार महासंघ जिल्ला शाखा निवार्तमान अध्यक्ष किरणमान बज्राचार्य पनि सेता घोडा चढेर बाहिरिएका थिए ।

सदस्य सचिव शाक्यले शान्तिका अनुयायीका लागि यो निकै महत्वपूर्ण र प्रेरणादायी घटना भएको बताए । ‘२९ वर्षको युवा अवस्था बिताएको ठाउँमै आएर दिवसमा सहभागी हुँदा साँच्चै शान्ति, सद्भाव र करुणाको ऊर्जा पलायो,’ उनले भने, ‘यस्ता शान्तिको ऊर्जा पलाउने कार्यक्रमबारे सबैलाई जानकारी गराएर अध्यात्मिक पर्यटनको गन्तव्य बनाउन लाग्नुपर्छ ।’

लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँणीकाजीले राजसी सुखसयल त्यागेर दरबार छाड्दा कस्तो अनुभूति हुँदो रहेछ भन्ने प्रत्यक्ष अनुभूति गर्न चाहनेका लागि दिवस मर्मस्पर्शी र प्रेरणादायी भएको बताए । ‘यस्तो ऐतिहासिक र प्रेरणादायी अनुभूति विश्वमै विरलै हुन्छ,’ उनले भने, ‘यसलाई राम्रो ब्रान्डिङ गर्न सके शान्तिमै रमाउने र आनन्दित हुनेका लागि स्वर्गभन्दा बढी पुण्यसञ्चय हुन सक्छ ।’ 

कार्यक्रमका सहभागीहरुले घोडा चढ्दै बाहिरिँदै दरबार छाड्दाको अनुभूति गरेका थिए । ‘हामीले सोच्दै नसोचेको इतिहास ब्युँतायौं,’ कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले भने, ‘यसलाई बौद्धमार्गी, उपासक उपासिका आकर्षण गर्ने कार्यक्रमको रुपमा विकास गर्नुपर्छ ।’ यसका लगि नगरपालिकाले सहयोग गर्ने उनले बताए । 

कोषका सद्भावना दूत विक्रम पाँणीकाजीले आफ्नो लगानीमा यो कार्यक्रम गर्दै आएका थिए । २०२६ देखि लुम्बिनी विकास कोषले उक्त कार्यक्रम गर्ने क्यालेन्डर बनाएको कोष सचिव शाक्यले बताए । 

असार पूर्णिमा निकै पवित्र दिन हो । राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको दिन, प्रथम धर्मदेशना गरेको दिन र मातालाई दुशितलोकमा अभिधम्म देशना गरेको दिन पनि हो । त्यसैले यो सबैका लागि पुण्य सञ्चय, आपसी सद्भाव र भ्रातृत्व जगाउने आकर्षक कार्यक्रमका रुपमा विकास गरेर लैजानुपर्नेमा सहभागीले जोड दिएका थिए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully