अर्घाखाँचीमा पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादन

असार २६, २०८२

वीरेन्द्र केसी

Fertilizer production from leaves in Arghakhanchi

अर्घाखाँची — सरकारले रासायनिक मल किन्न बर्सेनि अर्बौँ  रुपैयाँ छुट्याउँछ । सरकारले कृषि बजेटको उल्लेख्य रकम मलकै लागि विनियोजन गर्छ तर पनि किसानले समयमै मल भने पाउँदैनन् । कृषि वैज्ञानिकहरूले रासायनिक मलभन्दा पनि प्रांगारिक मल उत्पादनमा जोड दिँदै आएका छन् । 

यसैबीच अर्घाखाँचीमा भने वनमा खेर जाने पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादन गर्न सुरु गरिएको छ । शितगङ्गा नगरपालिका–१४ पावर सामुदायिक वनको जंगलमा पुगेर बुधबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले पातपतिङ्गरबाट मल बनाउने कार्यको शुभारम्भ गरे ।

यहाँका पावर, बुद्ध, चारपोखरी, देउराली र वाणगंगा सामुदायिक वनका उपभोक्ताले हिउँदभर पातपतिङ्गर बटुलेर जम्मा गरेका थिए । मन्त्री कलवारले यो नौलो अभ्यास सुरु गरिएको बताए । उनले युरिया मल अभाव भएको बेला यसरी संकलित पातपतिङ्गर कुहाएर बनाइने मलले कृषि उत्पादनमा तेब्बर वृद्धि हुने बताए ।

सम्वर्द्धन प्रणालीमा आधारित सामुदायिक वन उपभोक्ता समितिले काठ उत्पादन गरेको आम्दानीले गाउँमा विकास निर्माणसँगै खेर जाने पातपतिङ्गरबाट प्रांगारिक मल उत्पादनलाई प्रदेशभर कार्यक्रम बनाइने उनले बताए । ‘अर्गानिक खेती उत्पादन गर्न यो मल उपयुक्त हुन्छ,’ मन्त्री कलवारले भने, ‘डढेलो नियन्त्रण, वन सफा, छिटो बिरुवा हुर्कन सहयोग पुग्छ ।’ स्थानीयले पाँच वटा सामुदायिक वनबाट ३३ हजार किलो पातपतिङ्गर संकलन गरेका छन् ।

Fertilizer production from leaves in Arghakhanchiपावर वनको जंगलभित्र पातपतिङ्गरको प्लान्ट नै स्थापना गरिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा पातलाई टुक्राटुक्रा बनाउने दुईवटा मेसिन राखिएको छ । टुक्रा पारिएका पातलाई कुहाउन दुईवटा पोखरी निर्माण भएका छन् । पातपतिङ्गरलाई मेसिनमा राखेर धुलो बनाउने र १५ दिनसम्म पोखरीमा कुहाएर ग्रेडिङ मेसिनबाट छुट्याएपछि मल तयार हुने डिभिजन वन कार्यालय प्रमुख मोहनप्रसाद श्रेष्ठले बताए ।

यो मललाई खेतबारीमा राख्दा तरकारी, अन्नबाली उत्पादन तेब्बर हुने भएकाले आयआर्जनका लागि फलदायी बन्ने उनले बताए । सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनमा काठ उत्पादन गर्दै रुख बिक्री गरेर उपभोक्ताले आम्दानी लिइरहेका छन् । वनलाई आगलागीबाट जोगाउन विगतका वर्षमा उपभोक्ताले फायरलाइन निर्माण गरेका थिए । यो वर्ष वनभरीको सबै पातपतिङ्गरलाई कुचोले बढारेर बोरा र डोकोमा बोकेर प्लान्टसम्म उपभोक्ताले ल्याएका थिए ।

‘हरेक वर्ष वर्षामा पातपतिङ्गर पानीले बगाएर लैजान्थ्यो, अहिले सबै बटुलेर राखिएको छ,’ श्रेष्ठले भने, ‘पातबाट मल, वन सफासुग्घर, वातावरण सफा हुने, आगलागीबाट वन जोगिने गर्छ । पातबाट तयार गरिएकोप्रांगारिक मलले उत्पादन बढाउने, उपभोक्तालाई रोजगारीका अवसर सिर्जना हुन्छ ।’

पावर वनका अध्यक्ष वीरबहादुर खाम्चाकीले पातबाट तयार भएको मललाई पहिलो चरणमा उपभोक्तालाई वितरण गरिने बताए । ‘यो वर्ष प्याकेजिङ गरेर बाहिर बिक्री गर्न सम्भव नहोला,’ उनले भने, ‘यो मलले कृषि उत्पादनमा वृद्धि हुन्छ । कृषि उपज बिक्री गर्दा गाउँका स्थानीय कृषि उद्यममा जोड्ने र स्वरोजगार बनाउने लक्ष्य छ ।’ उनका अनुसार बजार निर्यात गर्ने उद्देश्यले प्रांगारिक मलबाट अर्गानिक अन्नबाली र तरकारी उत्पादन गरिने छ ।

‘पातपतिङ्गरबाट प्रांगारिक मल बनाउन अभ्यास गरेका छौँ,’ वन कार्यालयका सूचना अधिकारी केशर खडकाले भने, ‘अर्को वर्ष जिल्लाभर नै अभियान चलाउँछौँ । उत्पादित मल कृषकलाई बिक्री गर्ने र खेतबारीमा राख्दा अन्नबाली, तरकारी, बोटविरुवा, करेसाबारीमा उत्पादन राम्रो हुन्छ ।’ यसरी जंगलमा खेर जाने पात बटुल्दा सयौँ स्थानीयलाई रोजगारीका अवसर मिल्ने उनले बताए ।

अर्घाखाँचीमा ७३ हजार २ सय ७ हेक्टर क्षेत्रफलमा वन छ । जसमध्ये ३४ हजार ३ सय ४२ हेक्टरमा सामुदायिक वन छ । ६ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै ४७ हजार ३ सय ६४ हेक्टर क्षेत्रफल वन शितगङ्गा नगरपालिकामा रहेको छ । क्षेत्रफलका हिसाबले शितगङ्गा मुलुककै ठूलो नगरपालिका पनि हो । यहाँ बस्तीभन्दा वनजंगल धेरै छ । सबैभन्दा कम मालारानी गाउँपालिकामा २ हजार ८ सय ७०.३१ हेक्टर वन छ । जिल्लाभर ४ सय ६६ वटा वन समूह रहेका छन् ।

‘यसपटक वन र मानव बस्ती डढेलो जोखिम घटाउन उल्लेख्य सफलता मिल्यो,’ डिभिजन वन कार्यालय प्रमुख मोहन श्रेष्ठले भने, ‘जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय र वनका उपभोक्तालाई एकैपटक अभियानमा जोड्यौँ ।’

वीरेन्द्र

Link copied successfully