पाल्पा — सिद्धार्थ राजमार्गमा बुधबार बिहान ६ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको छ ।
वर्षा भइरहेको र रातीको समयमा वर्षा हुँदा थप क्षति हुन नदिन सवारी आवागमनमा रोक लगाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाले यसअघि पनि पाल्पाका सिद्धार्थ राजमार्ग लगायत अन्य मुख्य सडक आकस्मिक बन्द हुनसक्ने सूचना जारी गरिसकेको थियो ।
लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको विभिन्न भागमा पहिरो र ढुंगा खस्ने जोखिम देखिएपछि सवारी आवागमनमा अस्थायी रोक लगाइएको प्रहरीले जनाएको छ । विशेष गरी सिद्धबाबा क्षेत्र र बर्तुङ आसपासका स्थानमा खसेका ढुंगा तथा पहिरोका कारण सडक अत्यन्त जोखिमपूर्ण बनेको छ । अन्य स्थान पनि पहिरोको जोखिममा छ । यात्रु तथा सवारी चालकको सुरक्षालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा मंगलबार बेलुकीदेखि नै सवारी साधन आवागमन रोक लगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पा र ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा अपिल गर्दै अत्यावश्यक बाहेकका यात्राहरू तत्काल नगर्न आग्रह गरेको छ ।
सिद्धबाबा सडक खण्डमा पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएपछि मंगलबार बेलुकीपछि नै सवारी आवागमनमा रोक लगाएको थियो । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले मोटरसाइकल उछिट्टिएर घाइते भएका उनको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । बुटवलबाट पाल्पातर्फ आउने क्रममा लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल बेलुकी पहिरोमा परेको हो । मोटरसाइकलमा पछाडि बसेकी निजकै श्रीमती घाइते भएकी छन् । घाइते कल्पना चापागाईं मृतक भण्डारीको श्रीमती हुन् । उनको अवस्था सामान्य छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको उपचार भइरहेको छ ।
एक्कासि माथिल्लो भागबाट खसेको पहिरोले चालक भण्डारीलाई सडकबाट केही तल खसालेको प्रहरीले जनाएको छ । सिद्वार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डमा माथिल्लो भेगबाट पानी पर्दा वा हिउँदमासमेत थाहौ नपाई ढुंगा खस्ने, पहिरो जाने गर्छ । पहिरोको जोखिम रहेकाले रातीको समयमा बर्तुङ्ग र सिद्वाबाबा क्षेत्रबाट सवारी साधनको आवागमनमा रोक लगाएको छ । स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेयका अनुसार जुनसुकै बेला पनि सिद्धबाबादेखि दोभान खण्डमा पहिरो खस्न सक्ने सम्भावित क्षेत्र हो । यही सडक भएर पहाड, हिमाल र तराईका विभिन्न भागमा सवारी साधन र यात्रुको ओहोरदोहोर हुन्छ ।
