बुटवल — पाल्पाको दोभान गाउँपालिका-३ सिद्धबाबा मन्दिर नजिकै माथिबाट झरेको पहिरोमा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर श्रीमान्–श्रीमती सवार मोटरसाइकलसहित दुवै जना उछिट्टिएर तिनाउ खोलामा पुगेका थिए ।
मंगलबार साँझ झण्डै ७ बजे बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती कल्पना चापागाईं घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ ।
पहिरो खसेर मोटरसाइकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटर तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले बताए ।
