भैरहवा — रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रबन्ध मिलाउन माग गर्दै होटल एसोसिएसन नेपाल (हान) लुम्बिनी प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
एमाले पर्यटन विभागले काठमाडौंमा सोमबार आयोजना गरेको छलफलका क्रममा हान लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालनसहितका विभिन्न माग समेटेर प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पहल गर्न माग गरेका छन् । नियमित उडानका लागि आवश्यक श्रम, भिसा सेन्टर, मेडिकल जाँच र म्यानपावरका शाखा कार्यालय भैरहवामै स्थापना गरिनुपर्ने माग गरिएको छ ।
‘नेपाल एयरलाइन्सले भैरहवाबाट भारतको राजधानी नयाँदिल्ली लगायत गन्तव्यमा नियमित उडान सुरुवात गरोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘रुपन्देहीलगायत पर्यटकीय गन्तव्यमा रात्रिकालीन बजार सञ्चालनका लागि सुरक्षा प्रबन्ध मिलाइयोस् ।’
यसका लागि भैरहवाबाट कार्गो र राहादानी प्रदान गर्ने व्यवस्था हुनुपर्ने माग गरिएको छ । ‘विमानस्थल लक्षित गरेर लगानी गरेर जोखिममा परेका यातायात, होटल, ट्राभल्स लगायत व्यवसायीको कर्जा पुनर्तालिकीकरण, नवीकरण छुट सुविधा प्रदान गर्नु माग गर्छौं,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘हाम्रा माग सिघ्र पूरा गरेर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गरियोस् ।’
विभिन्न १० बुँदामा माग पेस गरिएको छ । ज्ञापनपत्रमा बृहत्तर लुम्बिनी गुरुयोजनाको द्रुत निर्माण, तिलौराकोट, देवदह र रामग्रामलाई छिटो विश्व सम्पदा सूचीकृत गर्न, बुद्धकालीन रोहिणी सभ्यताको प्रचारप्रसार र बुद्ध सर्किटलाई पूर्णता दिन माग गरिएको छ ।
‘बुद्धस्थललाई लुम्बिनी प्रदेशका अन्य गन्तव्यसित जोडेर कम्तीमा ५ दिनको पर्यटन प्याकेज बनाएर प्रवर्द्धन गर्न माग गर्छौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेशका सबै पर्यटकीय स्थलमा सहज पहुँचका लागि सडक र यातायात व्यवस्था गरियोस् ।’ साथै बेलहिया हुँदै प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकको सुरक्षा र उनीहरुलाई गन्तव्यसम्म सहजै पुग्ने वातावरण निर्माणका लागि माग गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
‘लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि जति सकिन्छ, जहाँबाट सकिन्छ दबाब दिइरहेका छौं,’ उनले भने, ‘यसपटक काठमाडौंमै आएर विस्तृत रुपमा माग पेस गरेको हुँ ।’
